►नारायण ढुङ्गाना
रत्ननगर (चितवन)। तपाईंको गाईभैँसीले कति दूध उत्पादन गर्छ ? पाँच लिटर, १० लिटर वा धेरै । बेच्ने पनि गर्नुहुन्छ होला ।
अझ व्यावसायिक रुपमा गाई पालेर दुग्ध उत्पादन गर्ने किसानले त दैनिक रुपमा ५०\६० लिटर देखि दुई तीन सय लिटर सम्म दूध उत्पादन गर्दै आएका होलान् ।
तपाईंले यो दूध बिक्री गरे वापत सहकारीले दिएको पैसा मात्रै थाप्नुहुन्थ्यो । अब तपाईंले प्रतिलिटर एक रुपैयाँका दरले थप अनुदान सहयोग पाउनुहुनेछ । यो प्रतिलिटर अतिरिक्त मूल्य हो ।
अब तपाईंले एक लिटर दूध उत्पादन गर्नुभयो भने एक रुपैयाँ अनुदान लैजान सक्नुहुन्छ । चितवनमा यो नयाँ कार्यक्रम सुरु भएको छ । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंले भने, “एकलिटर दूध ल्याउनुस्, थप एक रुपैयाँ लैजानुस् ।”
अनुदान लिएर व्यवसाय नगर्ने किसान देखिएकाले उत्पादनमा आधारित अनुदानको कार्यक्रम स्वरुप यहाँ नयाँ कार्यक्रम ल्याइएको हो । उनका अनुसार नेपालका १० जिल्लामा यो कार्यक्रम भर्खरै सुरु भएको छ । त्योमध्ये सबैभन्दा ठूलो कार्यक्रम चितवनमा छ । जिल्लाका २० सहकारीमा यो कार्यक्रम लागू भएको डा सेढाईंले बताए।
उनले जिल्लामा यो कार्यक्रमका लागि दुई करोड ५० लाख रुपैयाँभन्दा बढी रकम विनियोजन भई आएको छ । जिल्लाका सहकारीले दुई लाखदेखि १९ लाख रुपैयाँसम्म उक्त कार्यक्रमअन्तर्गत अनुदान रकम पाएका छन् ।
केन्द्रबाट यो रकम सिधै सहकारीको खातामा आउँछ र सहकारीले किसानलाई वितरण गर्ने छ । उक्त रकम किसानले दूध उत्पादन गरेको लिटरको आधारमा सहकारीमार्फत नै वितरण गरिने छ।
सहकारीमार्फत रकम वितरण हुने हुनाले सहकारीमा आबद्ध नभएका किसानले भने अनुदान पाउँदैनन् । चितवनको सबैभन्दा बढी परेवाश्वरी दुग्ध उत्पादक सहकारीले अनुदान पाएको छ । चितवनको भरतपुरमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारीले १३ लाख ५० हजार रुपैयाँ अनुदान पाएको छ ।
“अनुदान आइसक्यो, अब किसानले उत्पादन गरेको दूध लिटरको आधारमा पैसा वितरण गर्नेर्छौं” अन्नपूर्ण सहकारीका अध्यक्ष भागीरथ तिमिल्सिना बताउँछन्। उनले अनुदान लिएर काम नै नगर्ने किसान भेटिएकाले उत्पादनका आधारमा अनुदान पाउनु ठूलो कुरा भएको बताए । जिल्ला दुग्ध उत्पादक कृषक समाज र चितवनका विभिन्न दुग्ध क्षेत्रमा काम गर्नेको प्रयासले यो कार्यक्रम जिल्लामा आएको हो ।
जिल्ला दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरे त प्रतिलिटर पाँच रुपैयाँ अनुदान अनिवार्य हुनुपर्छ भन्छन्। किसानले अझै पनि लागतअनुसारको दूधको मूल्य नपाएको भन्दै उनले यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए।
जिल्लामा अहिले करिब साढे दुई लाख लिटर दूध उत्पादन हुन्छ । नेपालमा दैनिक करिब १८ लाख लिटर दूध उत्पादन हुन्छ । अहिले नेपालमा दूधको उपभोग अझै कम रहेको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ ।
सात लाख मेट्रिक टन दूध उत्पादन हुनसके नेपाल यसमा आत्मनिर्भर हुनेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19