काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकारले एमाले नेतृत्वको सरकारको पालामा नियुक्त भएका राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सीइओ) सुशील ज्ञवालीलाई हटाउने गृहकार्य थालेको छ । 

प्राधिकरणको कामप्रति प्रधानमन्त्री प्रचण्डले समेत असन्तुष्टि जनाउँदै आएका थिए । कांग्रेस मन्त्रीहरुको जोडबलमा बिहीबार बसेको क्याबिनेटले ज्ञवालीको कामप्रति प्रश्न उठाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सरकारको यस्तो निर्णयलाई ज्ञवाली हटाउने गृहकार्यको थालनीको रुपमा बुझिएको छ । 

प्रधानमन्त्री प्रचण्डले पुननिर्माणको कामको गति निकै सुस्त भएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उनले यसअघि अन्य मन्त्रीहरुले उनलाई पदच्यूत गर्ने प्रस्तावलाई पन्छाउँदै ज्ञवालीलाई बोलाएर कुरा गरेका थिए । सो क्रममा भूकम्पपछिको पुननिर्माणको कार्ययोजना तथा अहिलेसम्म भएका कामहरुको बिषयमा जानकारी लिएका थिए । सो क्रममा ज्ञवालीले स्पष्ट रुपमा प्रधानमन्त्रीलाई आफ्नो कार्ययोजना पेश गरेका स्रोत बताउँछ । 

‘प्रधानमन्त्री ज्ञवालीको कार्ययोजना पेशपछि सकारात्मक थिए ।’ एक स्रोतले भन्यो–‘तर क्याबिनेटका केही मन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाको ठाडो दवाबमा स्पष्टीकरण सोध्ने प्रस्तावलाई बैठकमा प्रवेश गराइयो ।’