काठमाण्डौ । दशैंको अवसर पारेर आगामी बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुँदैछ । 

दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवाको बिक्रीबितरण गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको मेलामा बजारको भन्दा सस्तोमा सामान किन्न पाइन्छ । 

एकै छानामुनि सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने उद्देश्यले इभेण्ट सोलुसन प्रालिको आयोजनामा मेला हुन लागेको हो । नेपाल चेम्बर अफ कमर्शको प्रवद्र्धनमा आयोजना हुने मेलाको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । 

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यसपटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’नारा दिइएको छ । ५ दिनसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजयसागर प्रधानले बताए । 

‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु रहने छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ ।’प्रधानले भने । 

मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ ।

‘दशैंको सपिङ गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनुपर्ने अवस्था नहोस् भन्न एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं ।’ प्रधानले भने । 

असोज १५ गतेसम्म चल्ने मेलामा ५० हजार अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ ।