-भक्तराज रसाइली 
काठमाण्डौ । सामान्यतया नेपाली सेयर बजारमा सेयर कारोबार हुने हप्ताको सुरुवाती दिनमा सबैभन्दा बढी उत्तारचढाव आउने गर्छ । यो तथ्य सेयर कारोबारको इतिहास हेर्दा प्रष्ट हुन्छ ।

यो हप्ताको सुरुवाती दिनमा समेत नेप्से ३ वर्षकै न्यूनतम विन्दूमा सीमित देखिएको छ र बजार बढ्ने संघर्ष समेत जारी नै रहेको आजको कारोबारको सुरुवाती अवस्थाले देखाइरहेको छ ।  

सामान्यतया नेपाली सेयर बजारमा बूल र बियरको साइकल ३-४ वर्षको हुने विज्ञहरु बताउने गर्छन् ।

यसै सिलसिलामा हामीले अन्यौलग्रस्त र निकै संवेदनशील मानिएको यो अवस्थामा लगानीकर्ताको मनोभावना र मनोविज्ञान बुझ्ने जमर्को गरेका छौ विभिन्न ब्रोकरहरुसम्म पुगेरः 

कमलपोखरीस्थित ब्रोकर नम्बर ४० क्रिएटिभ सेक्युरिटीजमा पुग्दा नेप्से परिसूचक विन्दू घटेको देखेर एक युवा लगानीकर्ता निराशा व्यक्त गरिरहेका देखिन्थे । उनीसँगै अर्का लगानीकर्ता पनि बजारको बिषयमा निराश देखिन्थे ।  निरश लगानीकर्ताहरुलाई सान्त्वना दिदै एक प्रौढ र अनुभवी झै देखिने लगानीकर्ताले भन्दै थिए-'बजार घटेपछि न बढ्ने हो, अहिले आत्तिइहाल्नु हुँदैन ।'

अनि एकछिनमा लामो सास फेर्दै अर्का लगानीकर्ताले भने-'हैन बस्यालले भनेको पुग्छ कि क्या हो ?' 

उनले जिज्ञासा राख्न नभ्याउँदै अर्का लगानीकर्ताले भने तत्काल मार्केट त कुनै पनि हालतमा बढ्दैन भन्दै ठोकुवा गरिरहेका थिए । उनले थप प्रष्ट्याउँदै भने-'मान्छेले थोरै घाटा सहेर बेचेका कारण पनि बिक्री चाप देखिएको हो ।' 

त्यसपछि एकछिनमा कतैबाट आएर डिस्प्ले हेर्दै एक जुझारु युवाले थपे-'वास्तवमा यो बेला सेयर खरीदको अवसर हो, बजारमा पैसा थप्ने बेला हो, सेयरलाई कुहिएको गुन्द्रुक झै फालेर पलायन हुने बेला होइन यो ।'

ब्रोकर नम्बर  ३५ कूहिनूरमा जाँदा नेप्सेमा हरियाली पोतिएको थियो । बजारमा हरियो भएकोले होला, त्यहाँ लगानीकर्ताका नजरमा खुशी र आशाका रंगहरु पोतिएको प्रष्टै देखिन्थ्यो । त्यहाँ उपस्थित लगानीकर्ताहरुमध्ये एकले खुशी हुँदै 'ज्यादै घटेको थियो बढ्न त पर्थ्यो नै' भन्दै आशावादी अभिव्यक्ति दिइरहेका थिए । अनि एकछिन बसेर त्यहीँ बस्दाबस्दै एक वृद्धले अर्का एक प्रौढ लगानीकर्तालाई भने-'बिहान आएको भए सस्तोमा किन्न पाईन्थ्यो, मौका चुकाईयो ।'

यसरी बढेको देखेर थक्थकाउँदै लगानीकर्ताले भनिरहेका बखत अर्का लगानीकर्ताले 'अब इन्स्योरेन्स बढ्छ' भनी दाबी समेत गर्दै थिए । 

हामी पुतलीसडकस्थित ब्रोकर नम्बर २५ श्वेता सेक्युरिटीजमा पुग्दा पनि हरियालीले नेप्सेलाई साथ दिइनै रहेको थियो । हामी लगानीकर्ताहरुको मनोभावना बुझ्ने क्रममै थियौं । बसेकै छेउमा एक वृद्ध सेयरलगानीकर्ता कानेखुसी गर्दै वार्तालाप गरिरहेका भेटिए ।  'फेसबूकमा जथाभावी लेखेर लगानीकर्ताहरुले आत्तिएको अवस्था देखाईदिन्छन्, अनि ठूला सेयर खेलाडीले खेल्न मौका पाउने भएकाले पनि उनीहरु बजार घटाउनमै उद्धत रहेको प्रष्ट हुन्छ', ती लगानीकर्ताले आफ्नो तर्क राखे । 

'बल्लतल्ल आएको अनलाइन पनि सफल भएन, पुराना सेयर लगानीकर्ताका झुण्ड अनलाइन चल्दैन भन्दै प्रचारबाजी गर्ने अनि सस्तोमा सेयर फुस्काउने रणनीतिमा लागेको जस्तो लाग्यो' भन्दै उनले पनि बजारमा आएको पछिल्लो अवस्थाबारे टिप्पणी गरे ।

दोश्रो बजारमा सेयर कारोबार अत्यन्तै जोखिमपूर्ण भएकाले बजारलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रभाव र असर पर्ने भएकोमा केही हदसम्म लगानीकर्ताका व्यवहार, विभिन्न मनोविज्ञान, ज्ञान, जोखिम मोल्ने क्षमता, व्यक्तित्व लगायतका तत्वहरुले पनि प्रभाव पार्ने हुँदा बजार सम्बन्धी निरन्तर अध्ययन, परिवर्तन स्वीकार गर्नसक्ने खुबी, घाटा सहन गर्नसक्ने, इमोसनलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । सेयर बजारमा सफलता हासिल गर्न सचेतता, स्वीकार्यता, सही कदमको अत्यन्तै महत्त्वपूर्ण भूमिका  हुन्छ ।

यसर्थ दोश्रो बजारमा कारोबारी हुँदा शान्त र संयम भई इमोसनलाई काबुमा राख्दै नाफालाई मात्रै हैन, घाटालाई पनि स्वीकार गर्दै दीर्घकालीन लगानीको रणनीतिसहित अगाडि बढ्ने हो भने सेयर बजारबाट कमैले घाटा व्यहोर्नुपर्ला । अहिलेको अवस्थामा कैयन राम्रा कम्पनीको सेयर समेत कौडीको भाउमा झरिसकेको छ, यस्तो बेलामा आत्तिएर सेयर बेची बजारबाट भाग्ने होइन, बरु धैर्य गरी लगानी थप्नु चाहि आजका लागि बुद्धिमानी लगानीकर्ताको रणनीति हुनसक्छ ।