काठमाण्डौ । धितोपत्र बोर्डले माध्यमिक तथा विश्वविद्यालय तहका विभिन्न कक्षाहरुको पाठ्यपुस्तकमै धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी बिषयवस्तु समावेश गराउने पहल थालेको छ । 

बोर्डले विभिन्न विश्वविद्यालय तथा उच्च माध्यमिक विद्यालयका सम्बन्धित बिषयको पाठ्यक्रममा धितोपत्र बजार तथा वस्तुत विनिमय बजार सम्बन्धी सामाग्री समावेश गराउन समन्वयको काम थालेको हो । 

जसअनुसार बोर्डले हालै माध्यमिक विद्यालय र विश्वविद्यालयका विभिन्न स्नात कतथा स्नातकोत्तर स्तरका पाठ्यक्रम र व्यवस्थापन तथा अर्थशास्त्र लगायतका विषयगत पाठयक्रमहरुको तयारी तथा थप सुधार कार्य गर्दा धितोपत्रसम्बन्धी विषयवस्तु समावेश गर्ने/गराउने पहल तथा कार्यका लागि आवश्यक समन्वय तथा सहकार्यका लागि पाठयक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालयअन्र्तगत रहेका मानविकी तथा समाजशास्त्र संकाय, व्यवस्थापन संकाय, कानून संकायका डीनको कार्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका साथै लोक सेवा आयोग, अनामनगरलाई समेत लिखित अनुरोध गरेको छ । 

बोर्डले धितोपत्रसम्बन्धी विषयवस्तुहरु माध्यमिक विद्यालय र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर स्तरका पाठ्यक्रममा समावेश गर्दा सो पाठ्यक्रमहरु समसामयिक तथा व्यवहार उपयोगी हुने र यसबाट लगानीकर्ताको हित संरक्षण तथा सशक्तिकरणमा सहयोग पुग्ने विश्वास लिएको छ । यसले धितोपत्र बजारको दिगो विकासमा पनि सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।