काठमाण्डौ । मुद्धती निक्षेपमै १३ प्रतिशतसम्म वार्षिक ब्याज पाउने अफर सार्वजनिक भइरहेको समयमा सिद्धार्थ बैंकले वार्षिक १०.५ प्रतिशत ब्याज  पाउने गरी आज(आइतबार)देखि २ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निश्कासन गरेको छ । 

यो बैंकले ७ वर्ष अवधिको ‘एसबिएल डिवेञ्चर–२०८२’ निश्कासन गरेको हो । 

लामो समयसम्मका लागि निश्चित ब्याजमा सुनिश्चित भई लगानी गर्न चाहनेका लागि रु. १ हजार दरका ऋणपत्रमा लगानी उत्तम हुनेछ ।

यो बैंकको ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ ।

बैंकले ४ लाख ५० हजार इकाई सर्वसाधारणका लागि र १८ लाख इकाई निजी क्षेत्रका लागि सुरक्षित गरेको छ । 

सिद्धार्थ बैंकले जारी गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले  ‘इक्रा एनपि ट्रिपल बि प्लस’को रेटिङ दिएको छ । यसले मध्यम किसिमको सुरक्षा रहेको संकेत गर्दछ ।

पछिल्लो समय ऋणपत्र निश्कासनका लागि वाणिज्य बैंकहरु आकर्षित हुँदै गएका छन् । नेपाल राष्टबैंकले मौद्रिक नीतिमार्फत ऋणपत्र निश्कासन सम्बन्धी निर्देशिकामा केही लचिलो व्यवस्था गरिदिएपछि एकपछि अर्को ऋणपत्रमा लगानीको अवसर सिर्जना भएको हो । 

यसअघि एनआइसी एसियाले ३ वटा ऋणपत्र जारी गरिसकेको छ भने चौथो ऋणपत्र समेत जारीका लागि आवेदन दिएको छ । 

बैंकहरुको  मुद्धती निक्षेपमा बढेको ब्याजदरका कारण सानिमा बैंकले निश्कासन गरेको ऋणपत्र  बिक्री हुन  हम्मे हम्मे परिरहेको बेला सिद्धार्थको पनि बजारमा आएको हो । त्यसो त सिटिजन्स बैंकले पनि ऋणपत्र निश्कासनको प्रक्रिया थालेको छ । 

ऋणपत्र जारी गर्दा निश्चित प्रतिशत ब्याज दिए पुग्छ। ऋणपत्रलाई पूँजी कोष अनुपातमा मिलाउन पाइने भएकाले बैंकहरुले पछिल्लो समय ऋणपत्रलाई रुचाउन थालेका हुन्। तर, लगानीकर्ताले भने पछिल्लो समय यस्ता ऋणपत्रलाई नरुचाउन थालेका हुन् कि जस्तो देखिएको छ ।