-नवराज सुवेदी
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा बोकेर नेपाल कम्युनिष्ट पार्टी जनताको घर–घरमा जनमत माग्दै पुग्यो । लोकप्रिय यस नारालाई नेपाली जनताले अनुमोदन गर्दै नेकपालाई पहिलो बहुमतप्राप्त पार्टी बनाइदिए । अहिले त्यही पार्टी ऐतिहासिक बहुमतसहित सत्ताको बागडोर सम्हालिरहेको छ । तर, यही बेला सेयर लगानीकर्ताहरु पनि रोइरहेका छन्, कराइरहेका छन् ।
दुई तिहाई बहमुतको बनेलगत्तै सम्पूर्ण उद्योगी, व्यापारी, मजदूर, गृहिणी, विद्यार्थी, कृषक पत्रकार, राजनीतिकर्मी, कर्मचारी लगायत समस्त नेपाली जनताको सहभागितामा बनेको राष्ट्रिय पूँजी निर्माण हुने थलो अर्थात राज्यकै अर्थतन्त्रको मेरुदण्ड मानिएको पूँजीबजारमा झनै रौनकता छायो । राजनीतिक स्थायीत्वसँगै अब देश आर्थिक क्रान्तितर्फ अगाडि बढ्ने भयो भनी सबै क्षेत्रको एउटै बुझाई भयो । अझ रौनकता र भरोसा त्यतिबेला भयो, जतिबेला अर्थतन्त्र बुझेका विज्ञ डाक्टर अर्थमन्त्री हुनुभयो ।
लामो समयदेखि बिरामी परेको अर्थतन्त्रको उपचार गर्न गतिलो डाक्टर साब फेला पर्नुभयो भनेर सबैतिर खुशियाली छायो, लगानीकर्ताले त दीपावली नै गरे ।
समय बित्दै गयो । समस्त नेपालीले राखेको विश्वास डगमगाउन थाल्यो, प्रश्नहरु उब्जिन थाले । औपचारिक अर्थतन्त्र छायामा पर्यो भने यही बेला अनौपचारिक अर्थतन्त्र फैलने अवसर पायो । सबैतिर कर आंतक फैलियो । ब्याजदरले नयाँ र ऐतिहासिक उचाई चुम्न थाल्यो ।
२०४६ साल यताकै सबैभन्दा बढी पूँजी पलायन यही वर्ष भयो । मध्यम र निम्न वर्गमा आर्थिक संकटका संकेत देखा पर्न थाले । यो बीचमा केही राम्रा काम पनि नभएका चाहि होइनन् ।
समग्रतामा सिंगो देश र जनताले जुन आशा अपेक्षा गरेका थिए, ९ महिनासम्म कुर्दा पनि हात लाग्यो शून्य मात्रै भयो । बरु डाक्टर अर्थमन्त्रीले बिरामी अर्थतन्त्रको उपचार गर्लान् र आफूहरुको कमाई पनि बढ्ला भन्ने आशासहित सेयरमा लगानी गरेका युवा जमातको हातमा लाग्यो शून्य मात्र भयो । आज ऋणै ऋणले थिचिएर आज सरकारको नेतृत्व गरिरहेको पार्टीलाई भोट दिने युवाहरु नै लगानी सुरक्षाको माग राख्दै अनसन बस्नुपर्ने अवस्था सिर्जना गरिएको छ, जुन बिडम्बनापूर्ण छ।
अब यसको समाधान भनेको वर्तमान विज्ञ अर्थमन्त्रीले आफ्नो विज्ञतालाई सिंगो देश र जनताले मागेको व्यवहारिकतामा रुपान्तरण गर्नुपर्छ । आफ्नै पार्टी, अनि प्रतिपक्षीमा रहेका पूर्व अर्थमन्त्री र अर्थतन्त्र बुझेका पात्रहरुसँग हप्तैपिच्छे स्वस्थ छलफल गरी अगाडि बढ्नुपर्छ ।
मासिक रुपमा आफ्नै बारेमा सरोकार सबै पक्षको उपस्थितिमा सार्वजनिक सुनुवाई गर्दै आफ्नो विज्ञता सिंगो देश र जनताको समृद्धिमा समर्पण गरिनुको विकल्प छैन ।
सम्पत्ति विवरण पेश गर्दा ‘यी हेर्नुहोस् मेरो फलानो बैंकमा यति करोड पैसा मुद्धतीमा छ’ भनेर उद्योगी व्यवसायीलाई हतोत्साही गर्नुभएन । अर्थमन्त्रीजस्तो व्यक्तिले जनता र मुलुकका लागि सोचिदिनुपर्छ ।
विज्ञ अर्थमन्त्री ज्यूले बैंकको ब्याज खाने होइन, उत्पादनमा पैसा लगाएर रोजगारी सिर्जना गर्दै आफूलाई उदाहरणीय पात्रको रुपमा स्थापित गराउन सक्नुपर्छ । अनेकन कुरा गरेर सेयर लगानीकर्तालाई हतोत्साही बनाउने होइन, बरु लगानी गरे आर्थिक रुपमा आत्मनिर्भर बनी देशमै केही गरौं भने पूँजीबजारमा लागेका युवाहरुको बिषयमा सकारात्मक सोचिदिन आवश्यक छ । उनीहरुलाई प्रोत्साहित बनाउनुपर्छ । यसका लागि समेत सेयर बजारका लगानीकर्ताले उठाएका जायज माग पूरा गर्न अर्थमन्त्रीले विलम्ब गर्नु हुँदैन । ढिलाईले नेपालमा लगानीको वातावरण छैन भन्ने गलत सन्देश टाढासम्म पुग्नसक्छ ।
अर्थमन्त्री ज्यू, म एक सर्वसाधारण नेपाली नागरिकको हिसाबले यी कुरा भन्दैछु । कृपया अन्यथा नसम्झिदिनुहोला ।
साथै, नेपाल सरकारको कुुर्सीमा विराजमान केही कर्मचारी पनि मन्त्रीप्रति मात्र होइन, सरोकारवाला सबै पक्षप्रति जिम्मोवर भएर अगाडि बढिदिनुहोला ।
धन्यवाद ।
(लेखक एक सेयर लगानीकर्ता हुन् ।)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19