rewat karki and bharat ranabhat
-भक्तराज रसाइली
काठमाण्डौ । पूँजीबजारमा अहिले धितोपत्र बोर्डका अध्यक्ष र धितोपत्र दलाल व्यवसायीको दूरी बढिरहेको छ ।
अध्यक्ष डा.रेवतबहादुर कार्की समग्र पूँजी बजारका नियामकका नेतृत्वकर्ता र दलाल व्यवसायीहरु धितोपत्र कारोबारका मध्यस्थकर्ताबीच सुरु भएको यो जुहारी इतिहासमै पहिलो घटना हो ।
नियामकका अध्यक्ष कार्की र सेयर ब्रोकरहरुबीचको यो लडाईँले अहिले बजार समेत निरन्तर प्रभावित भइरहेको छ । ब्रोकरहरु बजारमा कारोबारमा असहयोग गर्नेसम्मका कदम उठाउन लागिरहेको स्रोतको दाबी छ ।
अर्थसमितिले गतसाता पूँजीबजारका सरोकारवालाहरुलाई बोलाएर चलाएको छलफलका क्रममा नेपाल धितोपत्र बोर्डका अध्ययक्ष डा.रेवतबहादुर कार्कीले ब्रोकरहरुले आफूलाई महाशत्रु बनाएको र ब्रोकरहरु असक्षम भएको भनी दिएको अभिव्यक्तिप्रति ब्रोकर आगो बनेका छन् ।
अध्यक्ष कार्कीले बैंकलाई ब्रोकर लाइसेन्स दिन लाग्दा ब्रोकरहरुको असन्तुष्टि आफूमाथि खनिएको भन्ने प्रचारबाजी गरेर आम लगानीकर्ताहरुमा भ्रम छर्ने काम गरिरहेका असन्तुष्ट ब्रोकरहरुको दाबी छ ।
अर्थसमितिकै छलफलमा ब्रोकर संघका अध्यक्ष भरत रानाभाट लगायत उनका समुदायमाथि व्यक्तिगत रुपमा खनिएको भन्दै ५० वटै ब्रोकरले ज्ञापनपत्र समेत गत बिहीबार बोर्डसमक्ष बुझाइसकेका छन् । सो ज्ञापनपत्र बुझाएलगत्तै बोर्डले विज्ञप्ति जारी गर्दै कार्कीले व्यक्त गरेका भनाईलाई तोडमोड गरिएको भन्दै आफ्ना अध्यक्षको बचाउ गरेको थियो ।
तर, बोर्डको विज्ञप्तिबाट ब्रोकरहरु खुशी छैनन् । आफूहरुलाई होच्याएको भन्दै रिसाएका उनीहरुको रीस अझै मरेको छैन । उनीहरु अध्यक्ष कार्कीलाई देखाइदिने भन्दै नयाँ योजना बनाइरहेका स्रोत दाबी गर्छ । अहिले यही विषयमा ब्रोकरहरु दैनिकजसो बैठक बसिरहेका छन् ।
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले अर्थसमितिको बैठकमा अध्यक्ष कार्कीले आफूलाई महाशत्रु ठानेका र सबै ब्रोकरहरुलाई असक्षम भनी अपमान गरेकोले यो विषयमा माफी नमागी समस्याको समाधान नहुने प्रष्ट्याए ।
धितोपत्र दलाल व्यवसायी नरेन्द्र सिजापतीले भने धितोपत्र बोर्डबाट आएको विज्ञप्ति सकारात्मक भएको र झगडा गर्न नहुने भन्ने आशय राम्रो भएको, तर ब्रोकरहरुले विज्ञप्ति जारी होस् भन्ने माग नगरेका बताए । बोर्ड अध्यक्ष कार्कीको उदण्ड व्यवहारमा सुधार हुनुपर्ने उनको माग छ ।
नाम उल्लेख नगर्ने शर्तमा अर्का एक ब्रोकरले बिजशालासँग भने–‘बोर्डविरुद्ध हामी लागेक होइनौं व्यक्तिगत प्रवृतिको विरोध गरेका हौं । बोर्ड यस विषयमा अलिक अस्पष्ट भएजस्तो लाग्यो । अध्यक्ष जस्तो गरिमामय पदमा बसेकाले मर्यादा उल्लंघन गर्नुभयो, यसमा हाम्रो आपत्ति हो ।’
नेप्से इन्डेक्स १८८१ हुँदा बोर्ड अध्यक्ष कार्कीले एक पत्रिकामा अब लगानी गर्नहुन्न भन्ने अभिव्यक्ति दिएकै कारणले निरन्तर बजार घटिरहेको ती ब्रोकरको आरोप छ ।
सेयर बजारको पहुँच वुद्धि नभएको भन्दै हिँड्ने, तर ब्रोकरले शाखा विस्तार गर्न पूर्वाधार तयार गर्दासमेत हालसम्म अनुमति नपाएको ती ब्रोकरको गुनासो छ ।
अध्यक्ष कार्कीको अभिव्यक्तिका कारणले रुष्ट बनेका ब्रोकर र नियामकबीचको यो वाकयुद्ध पूँजीबजारका लागि नराम्रो संकेत हो ।
पूँजीबजारको थप विकास र विस्तारका लागि धेरै सुधार र प्रयासको खाँचो परिरहेका बखत यस्ता किसिमका बखेडामा नअल्झिई सहकार्य हुन जरुरी देखिन्छ । पूँजी बजारका सरोकारहरु सबै मिलेर बजारमा विश्वास र लगानीको वातावरण सिर्जना गर्नुपर्ने अवस्थामा सहकार्य गर्नुपर्ने पक्ष नै नदीका दुई किनारा बन्न खोजिरहेको यो अभ्यास ठीक नभएको बजारका विश्लेषकहरुले बताइरहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago