काठमाण्डौ । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै सेयर लगानीकर्ता दवाब समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको बर्खास्ती, सेयर खरीदमा प्यानको व्यवस्थालाई स्वेच्छिक बनाइनुपर्ने लगायतका माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । 

यो समूहले चैत ९ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । 

समूहले लगानीकर्ताको माग पूरा गर्नको साटो धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की आफैं लगानीकर्ताविरुद्ध षड्यन्त्रमा लागेका आरोप पनि लगाएको छ । बोर्ड अध्यक्ष लगानीकर्ताको विरुद्धमा रहेका दाबी गर्दै आन्दोलनको विकल्प नभएको निश्कर्षसहित समूह चैत ९ गतेदेखि १६ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

चैत ९ गते अर्थमन्त्रीको बर्खास्तीका लागि प्रधानमन्त्री अनुरोध गर्ने कार्यक्रम राखिएको छ । 

चैत १० गते धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने, ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ गर्ने, १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने, १३ गते धितोपत्र बोर्डमा तालाबन्दी गर्ने कार्यक्रम राखिएको छ । 

यस्तै, चैत १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुलाई नेपालको पूँजीबजार बारे अवगत गराउन विवरणपत्र बुझाउने, चैत १५ गते विदेशी पाहुनाहरुसँग छलफल गर्ने र चैत १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने समूहले निर्णय गरेको महासचिव नयन बास्तोलाले जनाएका छन् ।

दवाब समूहको अगुवाईमा मंसिर १० गतेदेखि १४ बुँदे मागसहित आमरण अनसन गरिएको थियो । त्यसको उपलब्धि रक्षा गर्न  र पूँजीबजारको थप सुधारका लागि भन्दै समूहले दोश्रो चरणमा पुनः ३२ बुँदे माग सरोकारवालालाई बुझाएको थियो । 

पछिल्लोपटक बुझाइएको मागको विषयमा सरोकारवाला उदासीन बनेका र पहिलो चरणको आन्दोलनको क्रममा अर्थमन्त्रालयबाट गठित कार्यदलले पेश गरेका ५८ बुँदे सुझावमध्ये अधिकांश कार्यान्वयन नगरिएको भन्दै निर्णायक आन्दोलन घोषणा गरिएको समूहका अध्यक्ष हरि ढकालले दाबी गरेका छन् । 

यो समूहले ५८ बुँदामध्ये अधिकांश कार्यान्वयन नगरिएको भन्दै अर्थमन्त्री डा. खतिवडालाई ‘पूँजी बजारविरोधी अर्थमन्त्री’को संज्ञा दिएको छ ।

अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने, सेयर खरीदमा प्यानलाई स्वेच्छिक बनाइनुपर्ने र सेयर बजारमा खरीदबिक्री गर्दा लिने क्यापिटल गेन ट्याक्स नै अन्तिम हो भन्ने व्यवस्था कार्यान्वयन हुनुपर्ने माग पनि थपेको छ । 

यो समूहले त्यसअघि अघि सारेका ३२ बुँदे मागसँगै यी केही नयाँ माग थपेको हो । 

समूहले अन्य लगानीकर्ता संघसंगठन, ब्रोकर र पूँजीबजारसम्बद्ध अन्य निकायलाई समेत सहकार्यका लागि आह्वान गरेको छ । 

सम्बन्धित समाचार:

दवाब समूहले अगाडि सारेका ३२ बुँदे माग के-के हुन् ?(सूचिसहित)