भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ ।
विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य: जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशाँै नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उपप्रधानमन्त्री यादवले अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो ।
यस्तै सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । उहाँहरुलाई मरणोपरान्त काम लाग्ने सबै अङ्ग दान गरेको कार्ड कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रदान गर्नुभयो ।
उपप्रधानमन्त्री यादवले सरकारले देशभरका विभिन्न भागमा जनशक्ति र प्रविधिसहितको मानव अङ्ग प्रत्यारोपण केन्द्रको पहुँच पु¥याउने तयारी गरेको बताउनुभयो । मिर्गौला रोगीका लागि डायलायसिसभन्दा प्रत्यारोपण प्रभावकारी हुने उहाँको भनाइ थियो । वर्तमान विश्वमा नसर्ने रोग मृत्युको मुख्य कारण बनेकाले उहाँले नसर्ने रोग र अङ्ग फेल हुने रोगबाट बच्न बचाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य राज्यमन्त्री डा यादवले मिर्गाैला प्रत्यारोपीहरु अरू स्वस्थ्य व्यक्तिसरह स्वस्थ्य र सक्षम जीवन बिताउन सकेको बताउनुभयो । उहाँले दुर्घटनालगायत विभिन्न कारणले मृत्यु हुने बिरामीका अङ्ग दान गर्न सके धेरै बिरामीले नयाँ जीवन पाउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कलाकारद्वय श्रेष्ठ र आचार्य, नेपालका लागि कोरियाली राजदूत योङ, अष्ट्रेलियाका राजदूत पिटर वर्ड, केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ, डा राकेशकुमार वर्मालगायतले मानव अङ्ग दान गर्नेबारे आम नागरिकलाई जानकारी दिनुपर्नेमा जोड दिएका थिए । ‘बाचुञ्जेल रक्तदान र मरेपछि अङ्ग दान’ गर्नेबारे जनचेतना फैलाउनुपर्ने उहाँहरुले बताउनुभयो ।
विश्व मिर्गौला दिवसका अवसरमा साताव्यापी रुपमा आयोजना गरेको ब्याडमिन्टन, दौड, मिर्गौला दान गरेका र प्रत्यारोपण गरेका बिरामी तथा केन्द्रका चिकित्सकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । गायक दीपक बज्राचार्यले साङ्गीतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago