काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले काठमाण्डौबाहिरका विभिन्न क्षेत्रहरुमा शाखा बिस्तारका लागि धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुबाट आवेदन मागेको छ ।
नेप्सेको सुपरीवेक्षण शाखाले सबै सदस्य दलाल व्यवसायीहरुलाई परिपत्र गर्दै काठमाण्डौ केन्द्रीत धितोपत्रको दोश्रो बजारलाई संघीय संरचनाअनुसार देशव्यापी रुपमा बिस्तार गरी आम लगानीकर्तालाई बजारको पहुँचमा सुनिश्चितता गर्नका लागि ब्रोकरका शाखा बिस्तार कार्यले सहयोग पुग्ने भन्दै इच्छुक ब्रोकरबाट आवेदन मागेको हो ।
इच्छुक ब्रोकरले आफ्नो शाखा देशव्यापी बिस्तार गर्नका लागि आफ्नो कम्पनीको आर्थिक तथा भौतिक क्षमता, कम्तीमा ५ वर्षसम्मको व्यवसायिक योजना, हाल कायम रहेको पूर्वाधार लगायतका विवरण राखी नेप्सेमा आवेदन दिनसक्ने व्यवस्था गरिएको हो ।
यो व्यवस्थाले बैंकहरुलाई सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स दिनुभन्दा आफूहरुलाई देशव्यापी रुपमा शाखा सञ्जाल बिस्तार गर्ने अवसर दिनुपर्ने ब्रोकरहरुको माग सम्बोधन भएको देखिन्छ ।
पछिल्लो समय मौद्रिक नीतिमार्फत नै बैंकहरुलाई समेत ब्रोकर लाइसेन्स दिने व्यवस्था गरिएको थियो । यो व्यवस्था कार्यान्वयनको चरणमा रहेको भए पनि पछिल्लो समय काम अगाडि बढ्न सकेको छैन ।
देशव्यापी रुपमा शाखा सञ्जाल रहेका बैंकहरुलाई ब्रोकर लाइसेन्स दिंदा यसबाट आफ्नो व्यवसायमा धक्का पर्ने भन्दै धितोपत्र दलाल व्यवसायीहरुले यो व्यवस्थाको सुरुवातदेखि नै विरोध गर्दै आएका थिए ।
उनीहरुको मागअनुसार नै शाखा बिस्तारको प्रक्रिया सुरुवातका लागि आवेदन मागिएको भए पनि बैंकहरुलाई पनि सहायक कम्पनीमार्फत ब्रोकरेज सेवा संचालनको अनुमति दिने र सो प्रक्रियालाई प्रभावकारी कार्यान्वयन गर्ने विषयमा उत्पन्न अन्यौलको विषयमा भने सम्बद्ध निकायहरुले प्रष्ट पार्न सकिरहेका छैनन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago