काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले उपत्यकाबाहिर ब्रोकर कम्पनीका थप ४ वटा शाखा विस्तारको अनुमति दिएको छ  । 

यसअघि ब्रोकर कम्पनीका उपत्यका बाहिर ४१ शाखा रहेकोमा थप ४ शाखा विस्तारका लागि अनुमति दिएको हो । 

अनुमति पाउनेमा आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजले दाङ , इम्पेरियल सेक्युरिटीजको सुर्खेत, भिजन सेक्युरिटीजले भैरहवा र अग्रवाल सेक्युरिटीजले जनकपुरमा शाखा बिस्तारको अनुमति पाएका धितोपत्र बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । 

'गत आर्थिक वर्षमा शाखा विस्तारका लागि ब्रोकरहरुबाट बोर्डमा परेका ८ आवेदनमध्ये पूर्वाधार तयार गरिसकेकाहरुलाई शाखा बिस्तारको अनुमति दिइएको हो ।' घिमिरेले बिजशालासँग भने-'बाँकी ४ वटाले पूर्वाधार तयार गरिरहेका भन्ने कुरा आएको छ । तिनीहरुको समेत निरीक्षण गरेपछि अनुमति दिइनेछ ।'

यसैबीच, शाखा बिस्तारको अनुमति पाएका ब्रोकर कम्पनीमध्ये आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रा.लि.ले दाङको घोराहीमा नयाँ वर्षदेखि शाखाको औपचारिक संचालन थाल्ने र धितोपत्र खरिदबिक्री र डीपी सेवा सहितको पूर्ण ब्रोकरेज सेवा दिइने निर्देशक रामचन्द्र भट्टराईले बताए । 

आर्यताराले यसअघि बुटवलमा शाखा बिस्तार गरेको थियो । अहिलेको अनुमतिसँगै यो कम्पनीको शाखा संख्या २ भएको छ । 

आफ्नो कम्पनी राप्ती अञ्चलको पहिलो ब्रोकर शाखा भएको पनि निर्देशक भट्टराईको दाबी छ । 

बोर्डबाट अनुमति पाए लुम्बिनी अञ्चलका सबै ठाउँमा शाखा खोल्ने आफूहरुको योजना रहेको उनले सुनाए ।