छोटेलाल रौनियार(अध्यक्ष) नेपाल इन्भेष्टर्स फोरम 
वि.सं.२०७५ मिश्रित वर्ष रह्यो । विगत ३ वर्षदेखिको वियरिस बजारका कारण लगानीकर्ताहरु मारमा परे । बजारमा मागभन्दा आपूर्ति बढी भयो, तर नियामकहरुले माग बढाउने किसिमका प्रयत्न गरेरनन् । लगानीकर्ताहरुले आन्दोलन गरेका हुनाले आन्दोलनको वर्षका रुपमा मैले बुझेँ । आन्दोलन स्वभाविक पनि थियो, किनकि लगानीकर्ताहरुका हकहित र बजार विकास तथा विस्तारकै लागि भनेर आवाज उठ्यो । नियामकले सकारात्मक निर्देशन दिएका केही राम्रा काम समेत भए । ०७५ सालमा मैले गुमाएको वर्षका रुपमा सम्झनेछु । नियामकले आगामी नयाँ वर्षमा पाइपलाइनमा रहेका बजार विकास र विस्तारका कामहरु यथाशीघ्र गर्ने छन् भन्ने आशा लिएको छु । ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर भनेर स्पष्ट भनाइ सरकारको तर्फबाट आउने मैले अपेक्षा गरेको छु ।

उत्तम अर्याल(अध्यक्ष)सेयर लगानीकर्ता संघ
देशको जीडीपी ग्रोथ अनुसार समग्र सेयर बजार सुधार हुन सकेन । निराशाजनक वर्ष २०७५ रह्यो । नियामकहरुको प्रयास र कामलाई पास मार्क मात्र दिन चाहन्छु । कुनै एक व्यक्तिको व्यक्तिगत लहडमा बजारमा नीति निर्देशन सरोकाला पक्षसँग छलफल बिना नै आएकाले स्वागतयोग्य र उत्साहजनक वर्ष रहेन । २०७५ लाई म सन्तुलित वर्षका रुपमा लिएँ, न कमाएँ नकि गुमाएँ । मुलुकमा नयाँ वर्षसँगै समृद्धि छाओस् र आर्थिक उन्नतिको वर्षका रुपमा अपेक्षा गर्दछु ।

हरि ढकाल(अध्यक्ष)लगानीकर्ता दबाब समूह
पूँजीबजार विकास र विस्तारको कोणले हेर्नुपर्दा समग्रमा निराशाजनक अवस्था रह्यो । हामीले बजार सुधारका लागि उठाएका आवाजहरु सम्बन्धित ठाउँसम्म मज्जैले घन्कियो । हामीले उठाएका जेन्यून मुद्धा र बहसको सम्बोधन भएका थिए भने २०७५ सम्झनयोग्य वर्ष हुन्थ्यो । अर्थमन्त्रीसमेत केहीसमय देखि सकारात्मक हुनु भएको मैले आभाष पाएको छु । नियामकका नीति तथा निर्देशनहरु कार्यान्वयन सशक्त रुपमा हुने आशा मैले राखेको छु । २०७५ मा मैले सेयर बजारमा गुमाएको वर्ष हो । आगामी २०७६ सालमा पूँजी बजारले गति लिने र सम्पूर्ण लगानीकर्ताहरुले राहतको श्वास फेर्न पाउने वर्षको अपेक्षा राख्दछु । अन्तमा सेयर बजारमा गरिएको लगानी सुरक्षित र आशावादी हुने देखेको छु ।

संरचना चौधरी(अध्यक्ष) नेपाल पूँजी बजार संघ
वि.सं.२०७५ साल अनलाइन कारोबार प्रणाली सुरुवात भएको वर्षका रुपमा सम्झेँ । समग्रमा ७५ साल ठीकै मात्र रह्योजस्तो लाग्छ । आशालाग्दो चाहिँ हुन सकेन । सरकारले पूँजीबजारका लागि केही कदम नचालेकाले अलिक दुःख लागेको छ । नियामकहरुले समेत पूँजीबजारका लागि चित्तबुझ्दो काम गरेका छैनन् । नियामकका नीतिनिर्देशन कार्यान्वयनमा अस्पष्टता झल्कियो । मैले ७५ साल गुमाएको  वर्ष हो । २०७६ सालमा सम्पूर्ण लगानीकर्ताहरुका हातहातमा अनलाइन लगइन पुगोस् भन्ने शुभेच्छा छ ।

नवराज उप्रेती-सक्रिय लगानीकर्ता ,बानेश्वर
२०७५ साल नेप्से घटेका कारणले अशुभ र घाटाको वर्षका रुपमा लिएँ । नियामकका भूमिका सन्तोषजनक रहेन अर्थात सकारात्मक कदम चालिएन । अर्थमन्त्रीका गैरजिम्मेवारपूर्ण भनाइहरु आउनाले समेत बजार प्रभावित बन्यो । नेप्सेको अनलाइन प्रणाली फितलो भयो । ०७५ साललाई मैले धेरै गुमाएको वर्षका रुपमा सम्झेको छु । सबै क्षेत्रबाट सकारात्मक कुराहरु आएमा ०७६ सालमा उत्साहजन अवस्था आउँछ कि भन्ने अपेक्षा छ । 

केशव न्यौपाने-सक्रिय लगानीकर्ता,धरान
२०७५ साल बजार उत्तारचढावको वर्ष रह्यो लगभग स्थिरजस्तै नै भयो । नियामकको कदम चित्तबुझ्दो भएन । नियामकहरुले राम्रो नियमन नगरिदिने, इन्साइडर ट्रेडिङ्ग व्याप्त जस्ता गैरजिम्मेवारपूर्ण भूमिका खेले । नियामकका नीति निर्देशनहरु चुस्तदुरुस्त र भरपर्दो आएन । मेरो ०७५ साल बराबर रह्यो अर्थात न नाफा न घाटा । देशमा अब आर्थिक क्षेत्रमा कायापलट होला र बजार पनि राम्रो हुने आशा ०७६ सालमा लिएको छु ।

ऋषिराम गौतम-सक्रिय लगानीकर्ता, बनेपा
दीर्घकालीन लगानीका लागि प्रवेश गर्ने सुअवसर वर्षका रुपमा ०७५ साल भयो । नियामकका केही कमजोरी रहेतापनि अन्य काम राम्रै रहे ।  सेयर बजारमा ०७५ सालले प्रविधिमा फड्को मारेको साल रह्यो । नियामकहरुका नीति निर्देशनहरु क्रमिक रुपमा लगानीकर्तामैत्री भइरहेकोमा आशा गर्ने ठाउँ प्रशस्तै छन् । अनलाइन मिडियाहरुले खोजपूर्ण समाचार सम्प्रेषण गरेका हुनाले अधिक फाइदा लगानीकर्ताहरुले प्रत्यक्ष अनुभूति गरिरहेका छन् । मेरो व्यक्तिगत रुपमा ०७५ साल कमाएको वर्ष हो । ०७६ सालमा दीर्घकालीन लगानीका लागि राम्रै हुनेमा आशावादी छु ।