-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले संचालन गरेको 'मेरो सेयर' पोर्टलमार्फत सेवा लिनेको संख्या बढिरहेको छ । 

सिडिएससिको तथ्यांकअनुसार 'मेरो सेयर' पोर्टल लिने सेवाग्राही ४ लाख ८३ हजार २ सय ८५ पुगिसकेका छन् । यो क्रम निरन्तर बढ्दो छ ।

'मेरो सेयर' पोर्टलमा लगानीकर्ताहरुले आफ्नो नाउँमा रहेको विभिन्न कम्पनीको सेयरको विवरण हेर्ने, पोर्टफोलियो, प्राथमिक निष्कासन, हकप्रद सेयर आवेदन, ऋणपत्र आवेदन लगायतका सेवासुविधा पाइरहेका छन् । 

प्राथमिक निष्कासनमा सिआस्वा मार्फत २१ प्रतिशत र 'मेरो सेयर' पोर्टल मार्फत ७९ प्रतिशत आवेदन पर्ने गरेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

नेप्सेमा सूचीकृत कम्पनीहरुमा खुलेका हकप्रदमा कुल आवेदनमध्ये  सिआस्वाबाट  १५ प्रतिशत र बाँकी ८५ प्रतिशत 'मेरो सेयर'मार्फत आवेदन पर्ने गरेको प्रवक्ता न्यौपानेले बताए । 

यसैगरी, धितोपत्र बिक्रीपछि कारोबार राफसाफमा प्रयोग गरिने डीआइएस चेक कुल कारोबारीमध्ये  ५० प्रतिशतले प्रयोग गरिरहेका र बाँकी ५० प्रतिशत 'मेरो सेयर'को विद्युतीय हस्तान्तरण प्रणाली ईडीआईएसका प्रयोगकर्ता रहेका न्यौपानेले जानकारी दिए । 

चौध लाख ८६ हजार ८ सय ८४ डिम्याट खाता रहेको सिडिएससीमा ६९ वटा डीपी र ६४ वटा रजिस्ट्रर्ड सिआस्वा संचालनमा रहेका सिडिएससीले जनाएको छ ।