काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रमा तीव्र सुधार हुँदै गएको दाबी गरेका छन् । 

अर्थतन्त्रका सूचकहरुसँगै सेयर बजारमा पनि सकारात्मक परिवर्तन भइरहेको दाबी समेत उनले गरेका छन् । 

मुद्रा तथा पूँजीबजार सुधारका लागि थुप्रै प्रयास भएको भन्दै अर्थमन्त्री खतिवडाले त्यसको प्रतिफलका कारण पूँजीबजारमा सुधार भइरहेको दाबी गरेका हुन् । 

आर्थिक वर्ष २०७६/७७ का लागि बजेटको सुरुवातमै उनले पूँजीबजारलाई समेत प्राथमिकताका साथ आफ्नो सम्बोधनमा समेटेका देखिन्छ । यसकारण समेत यो वर्षको बजेटमा पूँजीबजारको विषयले प्राथमिकता पाएको अनुमान गर्न सकिन्छ । 

अर्थमन्त्री डा. खतिवडाले यो वर्ष देशले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने देखिएको र प्रत्येक प्रदेशको वृद्धिदर ६ प्रतिशतको हाराहारीमा हुने देखिएको समेत दाबी गरेका छन् ।