काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले रजत जयन्तीका अवसरमा निष्कासन गरिएको चाँदीको रजत जयन्ती स्मारिका सिक्का(रु १ सय)को आज आइतबार एक कार्यक्रमका बीच लोकार्पण गरेको छ ।

बोर्डले आफ्नो रजतजयन्तीको उपलक्ष्यमा बोर्डको रजत जयन्ती लोगो अंकित हुलाक टिकट तथा रजत जयन्ती स्मारिका सिक्का प्रकाशन गर्ने कार्यक्रम अनुरुप यसअघि हुलाक टिकट प्रकाशन गरिसकेको छ ।

यसै क्रममा रजत जयन्तीको उपलक्ष्यमा बोर्डको अनुरोधमा नेपाल सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले २९ मि.मि.व्यासको ८.५ ग्राम तौल भएको कुप्रो निकेल धातुको रु.१ सय दरका सिक्का निष्कासन गरेको छ । 

उक्त सिक्कालाई आज असार १५ गते बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीबाट लोकार्पण गरिएको हो ।

रजत जयन्तीका उपलक्ष्यमा रु.१सय दरका सिक्का समेत निष्कासन गर्ने कार्यक्रम रहेको छ । यसका साथै रु.२५ सयको सिक्का पनि निकट भविष्यमा निकाल्ने  बोर्डले जानकारी दिएको छ ।

बोर्डले आयोजना गरेको लोकार्पण कार्यक्रममा चिनोस्वरुप ५० जनाभन्दा बढी पत्रकारहरुलाई सो सिक्कासमेत वितरण गरिएको थियो ।