काठमाण्डौ । नेपाल राष्ट्रबैंकले स्प्रेडको नयाँ गणनाविधि लागू गरेपछि तथा कतिपय नीतिगत व्यवस्थाका कारण बैंकहरुको नाफामा निकै ठूलो गिरावट आउने खबरहरुका कारण सेयर बजार प्रभावित भएको छ । 

नेपालको सेयर बजारमा बैंकहरुको बोलवाला छ । यसकारण समेत बैंकहरुको नाफा ह्वात्तै घट्ने व्यवस्था कार्यान्वयनका लागि राष्ट्रबैंकले सर्कुलर गरेपछि यसले बजारमा समेत नकारात्मक प्रभाव पारेको हो । 

राष्ट्रबैंकले आम्दानी तथा नाफामै निकै ठूलो असर पर्ने गरी विभिन्न नीतिगत व्यवस्था कार्यान्वयनका लागि सर्कुलर गरेपछि त्यसको बैंकरहरुले विरोध गरिसकेका छन् । वाणिज्य बैंकका सीइओहरुको संस्था नेपाल बैंकर्स संघले बुधबार बैठक नै बसी राष्ट्रबैंकलाई स्प्रेड गणनाको नयाँ विधि कार्यान्वयनको सवालमा पुनरविचार गरिदिन सार्वजनिक आह्वान गरिसकेको छ । विकास बैंकका सीइओहरुको संस्था नेपाल डेभलपमेन्ट बैंकर्स एशोसिएसनको यही विषयमा शुक्रबार बैठक बस्दैछ । यस्ता खबरले समेत लगानीकर्ताको मनोबल खस्किदा नेप्से परिसूचकमा करिब दोहोरो अंकको गिरावट आएको हो । 

एकातिर पूँजीगत लाभकर गणना विधिमा देखिएको द्विविधापूर्ण अवस्था अन्तका लागि सम्बन्धित निकायबाट भरपर्दो पहल भइरहेको छैन भने यसले गिरेको लगानीकर्ताको मनोबल बैंकहरुको नाफा घट्ने खबरले थप गिर्न पुगेको विश्लेषकहरु बताउँछन् । 

साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक करिब १० अंकले घटेर १२३८.५६ को विन्दूमा सीमित हुन पुग्यो । 

यो दिन सबै उपसमूहको सूचकमा रातो पोतिएको छ । 

राम्रा र बलिया कम्पनीको सेयरमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.९६ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.७७ अंकको गिरावट आएको छ । 

यो दिन बैंकिङ समूह ५.५४ अंकले घटेको छ भने विकास बैंक, बित्त कम्पनी, माइक्रोफाइनान्स समूह, जीवन बिमा र निर्जीवन बिमा समूह क्रमशः ८.१५, ४.९७, २०.३२, २६.५५ र ७५.४३ अंकले घटेका छन् । 

ट्रेडिङ समूह २.०३ अंकले घटेको यो दिन होटल समूहमा २०.८३, जलविद्युत समूहमा ३१.३५, उत्पादन तथा प्रशोधन समूहमा ११.८५, म्युचुअल फण्ड समूहमा ०.०२ र अन्य समूहमा ५.३४ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता सेयर ४५ करोड ४६ लाख २९ हजार ५७५ रुपैयाँमा किनबेच भएको छ । 

बैंकहरुको नाफा घट्ने र यसको सोझो असर लाभांश क्षमतामा पर्ने खबरले अरुबेला वाणिज्य बैंकहरुको बोलवाला हुने कारोबारमा अन्य कम्पनी अगाडि देखिएका छन् । 

यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान मात्रै वाणिज्य बैंकले कब्जा गरेको छ । 

रसुवागढी हाइड्रोले सबैभन्दा धेरै ९ करोड ७६ लाख बढीको कारोबार गरेको छ भने साञ्जेनले ५ करोड १३ लाख बढीको कारोबार गरेको छ।
 

नेपाल बैंकले २ करोड ३३ लाख, एनसीसी बैंकले १ करोड ९२ लाख बढीको कारोबार गरेको छ भने सिभिल बैंकको १ करोड ७७ लाख बढीको संस्थापक सेयर यो दिन किनबेच भएको छ । 

कृषि विकास बैंकले १ करोड ४९ लाख बढीको कारोबार गरेको यो दिन मुक्तिनाथ विकास बैंकले ९७ लाख, प्रभू बैंकले ९६ लाख, अपर तामाकोशी हाइड्रोले ८५ लाख र चिलिमे हाइड्रोले ८३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन रसुवागढीको सेयरमा नेगेटिभ सर्किट लाग्यो, तर साञ्जेनको सेयर मूल्य भने ५ प्रतिशतको हाराहारीमा मात्र घट्यो । अघिल्लो दिन यी दुवै कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो ।