काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायीको अनुमतिपत्रका लागि सुरु गरेको प्रक्रिया स्थगन गर्ने औपचारिक निर्णय गरेको छ । 

नेप्सेको भदौ २ गतेको संचालक समितिको बैठकले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरणका लागि सुरु भएको प्रक्रिया अर्थसमितिको निर्देशन अनुसार हाललाई स्थगित गरिएको प्रष्ट पारेको हो । 

एक सूचना प्रकाशित गर्दै नेप्सेले साउन ३० गते संघीय संसदको अर्थ समितिबाट तत्कालका लागि बैंकलाई ब्रोकर लाइसेन्सको प्रक्रिया स्थगन गर्न निर्देशन आएको र त्यसैका आधारमा नेप्सेले सुरु गरेको प्रक्रिया समेत हाललाई स्थगित गरिएको जानकारी गराएको छ । 

अर्थ समितिले नेप्सेलाई एक लिखित निर्देशन दिंदै बैंकका सहायक कम्पनीलाई ब्रोकरेज सेवाको लाइसेन्स नदिन भनेको थियो । अर्थ समितिले यो विषयमा अध्ययन गर्न सांसद रामकुमारी झाक्रीको संयोजकत्वमा तीन सदस्यीय एक कार्यदल समेत बनाएको छ । 

नेप्सेले सो अध्ययन कार्यदल(उपसमिति)को प्रतिवेदन नआएसम्मकालागि बैंकलाई ब्रोकर लाइसेन्स वितरणको सबै प्रक्रिया स्थगन भएको प्रष्ट्याएको हो ।