काठमाण्डौ । एनएमबी क्यापिटल लिमिटेडले केही फरक अवधारणासहित आफ्नो तेस्रो म्युचुअल फन्ड ‘एनएमबी–५०’ मा लगानी गर्ने अवसर अब २ दिनमात्र बाँकी बाँकी रहेको छ ।

गत साउन १३ गतेबाट ‘एनएमबी–५०’ का १२ करोड इकाइ बिक्री खुला गरिएको थियो । यो म्युचुअल फन्डको प्रतिइकाइ मूल्य रु। १० अंकित १२ करोड इकाइ बिक्री खुला गरिएको हो ।

कुल इकाइमध्ये न्यूनतम १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १४ प्रतिशत इकाइ कोष प्रवद्र्धक कम्पनी एनएमबी बैंक लिमिटेड तथा १ प्रतिशत इकाइ योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखिएको छ। बाँकी न्यूनतम १० करोड २० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिनेछ ।

बजारमा रहेका ५० वटा उत्कृष्ट प्रदर्शन गर्ने सेयरहरुमा लगानी गरी राम्रो लाभांश वितरण गर्ने उद्देश्यसहित एनएमबी क्यापिटलले आफ्नो तेस्रो म्युचुल फन्डको रुपमा ‘एनएमबी–५०’ लन्च गरेको हो । 

यो म्युचुल फन्ड नेपाल स्टक एक्सचेन्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वटा कम्पनीको सेयरहरुमा मात्र केन्द्रित हुनेछ । यस्तो अवधारणाको म्युचुल फन्ड अहिलेसम्म नेपालमा थिएन ।

एनएमबी क्यापिटल विगत पाँच वर्षदेखि सफल म्युचुअल फन्ड व्यवस्थापन गर्ने अनुभवी मर्चेन्ट बैंक हो ।

एनएमबी क्यापिटलले यसअघि एनएमबी ‘सुलभ इन्भेस्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाइब्रिड फन्ड एल–१’ सञ्चालन गरिरहेको छ । एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्डले विगत ४ वर्षको अवधिमा लगातार २० प्रतिशतभन्दा बढी दरको लाभांश वितरण गर्दै आएको छ । यो स्किमको प्रदर्शन नेप्से परिसूचककोभन्दा राम्रो छ ।

साढे ४ वर्षको अवधिमा समग्र सेयर बजारमा ४२ प्रतिशत प्रतिफलको तुलनामा यो योजनामा ८४ प्रतिशतको प्रतिफल इकाइधनीले पाउँदै आएका छन् ।

एनएमबी हाइब्रिड फन्डको प्रदर्शनसमेत नेप्से परिसूचकको भन्दा राम्रो छ । विगत २.५ वर्षको अवधिमा समग्र सेयर बजारमा २५.१ प्रतिशतको गिरावट आउँदा यो स्किमले १०.९ प्रतिशतको प्रतिफल वितरण गरेको देखिन्छ ।

‘एनएमबी–५०’ को प्रक्षेपित लाभांश

एनएमबी–५० योजना सञ्चालनको पहिलो वर्ष सञ्चय वर्ष हुने र लाभांश भुक्तानी दोस्रो पूर्ण आर्थिक वर्षदेखि सुरु हुनेछ।

यो स्किमले दोस्रो, तेश्रो र चौथो वर्ष १५ प्रतिशतको दरले तथा पाँचौँ, छैटौँ र सातौँ वर्ष २० प्रतिशतका दरले प्रतिफल वितरण गर्न सकिने प्रक्षेपण गरिएको छ ।