काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २०.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको भदौ १३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश (बोनस सेयरको करसहित) गरी कुल २०.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाको चुक्ता पुँजी ३९ करोड ७६ लाख रुपैयाँ पुगेको रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी सााधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

मुख्य वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्दै नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा १२४.८५ प्रतिशतको छलाङ मार्न सफल भएको छ ।

हालै सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १२ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ५ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ७ करोड ४ लाख रुपैयाँ बढी कमाउन सफल भएको हो ।