– भक्तराज रसाइली

बारा (अमलेखगन्ज) । दक्षिण एसियाकै पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा आआफ्नो देशबाट ‘स्विच’ थिचेपछि पाइपलाइन औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र भारतको नयाँदिल्लीबाट भारतीय प्रधानमन्त्री मोदीले स्विच थिचेपछि औपचारिकता रुपमा उद्घाटन भएसँगै पाइपलाइन सञ्चालनमा आएको हो । दुवैतर्फ भिडियो कन्फ्रेन्समार्फत स्विच थिचेर उद्घाटन गरिएको दृश्य भिडियोमार्फत देखाइएको छ । प्रधानमन्त्रीहरुबाट उद्घाटनको दृष्य नेपाल आयल निगमको अमलेखगञ्ज डिपो र भारतीय आयल निगम कर्पोरेशनको मोतिहारी डिपोबाट प्रत्यक्ष रुपमा स्क्रीनमा हेर्नसक्ने व्यवस्था मिलाइएको थियो ।

नेपाल आयल निगमले  भारतको मोतीहारीबाट  पाइपलाइन माध्यममार्फत बाराको अमलेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ  ल्याउने गरी सबै तयारी पूरा भइसकेको जनाएको छ ।

नेपाल आयल निगमले विहारको मोतीहारी जिल्लाबाट पाइपलाइनमर्फत सीधै हालका लागि डिजेल ल्याउने भएको छ। २ वटा ३९ सय किलोलिटर र अर्को २ वटाबाट ४१ सय किलोलिटर तेल आउने निगमका  पेट्रोलियम इन्जिनियर ऋषिराम शर्माले जानकारी दिए। डिलरहरुमा वितरण गर्ने प्रणाली भने पुरानै हुने शर्माले प्रष्ट्याए।

बन्द हड्ताल र ट्यांकर व्यवसायीको गतिविधिबाट पेट्रोलियम पदार्थको आपूर्तिमा बाधा नपुग्ने र ट्यांकरबाट आयात गर्दा आगजनी, दुर्घटनाबाट जोगिने शर्माको दाबी समेत छ। ‘जमिनमुनि ३ मिटर तल सुरक्षित तवरले पाइपलाइन बिछ्याइएको छ।’ इन्जिनियर शर्माले भने–‘सुरुमा लगानी धेरै भए पनि यसले लागत घटाउन मद्धत गर्छ। यसले ढुवानी खर्च समेत घटाउन सघाउँछ ।’

पाइपलाइन बिछ्याइएको दुवै देशका डिपोहरु बाराको अमलेखगञ्ज र मोतीहारीको दूरी ६९.२ किलोमिटर रहेको छ। निकट भविष्यमै यिनै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल समेत ल्याइने शर्माले जानकारी दिए।

प्रतिघण्टा २९४ किलोलिटर तेल आउने उल्लेख गर्दै बजार माग अनुसार तेल आयात गरिने उनको भनाइ छ।

विसं २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार सो पाइपलाइन निर्माण भएको हो ।

विसं २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेका थिए ।

शुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको थियो ।

पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भूभागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ ।

भारत सरकारको रु चार अर्ब ४० करोडको आर्थिक सहयोगमा निर्माण भएको पाइपलाइनको कूल लम्वाई ७० किलोमिटर रहेको र पाइपलाइन भारततर्फ ३२।५ किलोमिटर तथा नेपालतर्फ ३७।५ किलोमिटर रहेको छ ।

नेपाल आयल निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनमा आएपछि अब वार्षिक रु दुई अर्ब बचत हुनेछ । यसबाट पर्यावरण विनाश, राजमार्गमा हुने ट्राफिक जाम, दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ ।

पाइपलाइन उद्घाटनसँगै नेपाल आयल निगमले मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु। २ ले घटाएको छ । इन्धनको मूल्य घटाइएसँगै पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ र डिजेट तथा मट्टीतेलको मूल्य ९५ रुपैयाँ कायम भएको छ ।