– प्रकाश बन्जारा

वैदेशिक रोजगारीमा भासिने सबैका आआफ्नै बाध्यता र विवशता हुन्छन् । कसैले देशमा रोजगारीको अवस्था नदेखेर वैदेशिक रोजगारीको बाटो समात्छन् त कसैले देशमा गरेर अझ सफलताको खोजी गर्दै वैदेशिक रोजगारीको बाटो पहिल्याउँछन् । 

यहाँका हरेक नेपालीका आआफ्नै कथाव्यथा छन् । आफ्नै कथाव्यथा बोकेर हिँडेका सबैलाई एउटै कथाभित्र समेट्न पक्कै पनि सकिँदैन ।

यसपालि बिजशालाले भेटेको कथा भने अलि भिन्न खालको छ । एक नेपाली जो कुनै बेला सफल र नामी व्यावसायी बनेका थिए नेपालमा । तर देशमा चर्किएको द्वन्द्वले यस्तो स्थिति बनाइदियो लगानी गरेको व्यवसाय धारासायी भयो । व्यवसाय विस्तार गर्ने कुरा त परैजाओस् गरेको लगानी उठ्ने अवस्था रहेन । अनि आफँैले रोजगारी दिएर राखेको कम्पनीको सवारीचालकसँगै वैदेशिक रोजगारीका लागि खाडी मुलुक अर्थात यूएईको दुबई आए ।

संघर्ष र व्यावसायिक दिमाग सबैको एउटै हुँदैन । कसैले आफ्नो पेसालाई म यहीँ गर्न जन्मिएको भन्ठान्छन् भने कोही आफ्नो पहिचाहन खोज्दै हिँड्छन् अनि सफल पनि हुन्छन् । सफल हुनु भनेको कुनै कामको सुरुआत गर्नुमात्र हँुदैहोइन सफल हुनका लागि अथक परिश्रमका साथै निडरता र आत्मबल उत्तिकै चाहिन्छ ।

आज हामीले प्रस्तुत गर्न लागेको कथाका पात्र अरुकोही नभएर उही निडर दूरदर्शी भावनाका धनी स्याङ्जाको भिरकोट नगरपालिका– ८ मा जन्मेहुर्केर हाल यूएईको दुबईमा व्यवसाय गर्दै आएका रमेश श्रेष्ठको हो ।

आजभन्दा १० वर्षपहिले दुबईको रोड एन्ड ट्रान्सपोर्ट अथोरिटी (आरटीए) मा सवारीचालकका रुपमा वैदेशिक रोजगारीमा हाकिएका श्रेष्ठ आज यूएईमा व्यवसाय गरेर बस्ने नेपालीको सूचीमा माथिल्लो नम्बरमा आउने गर्छन् । देशको द्वन्द्व र बन्दहड्तालले गर्दा श्रेष्ठले चलाएको पेप्सीको वितरण सेन्टर धारासायी भएपछि ऋणबाट जोगिन व्यवसाय छोडेर खाडी भासिनुपरेको रहेछ तर आज उनी खाडी भासिनुपरेको गुनासो गर्दैनन् ।

इच्छाशक्ति र केही गर्ने सोच हँुदा देशविदेश जता पनि आफ्नै काममा बाँँच्न र बचाउन सकिन्छ भन्ने सोच श्रेष्ठको हो । गाउँघरमा नाम चलेको छोरो, त्यत्रो ठूलो व्यवसाय, दुबई आएपछि घरको ठूलो ऋणले गर्दा केही समय श्रेष्ठ भूमिगतजस्तै बसेछन् । तर अठोट व्यक्तिको सफलताको मुख्य कारण हो । उनले आफू सफल हुने विश्वास कायमै राखेर पुनः व्यवसायमै होमिने निर्णय लिए र झन्डै चार वर्ष खाएको सवारीचालकको जागिर छाडेर सन् २०१३ मा एक यूएईका नागरिकसँग साझेदारीमा डेस्टिनी ह्युमन रिसोर्सको नामबाट कम्पनी चलाउन सुरु गरे । 

विदेशको कानुन त्यसमाथि यहाँको कामकाजी भाषा व्यवसाय चलाउनु चानचुने कुरा हुँदै होइन । फेरि यहाँको नियमअनुसार कम्पनी सञ्चालन गर्न अनिवार्य रुपमा एकजना स्थानीयले स्पोन्सरसिप गर्नपर्ने हुन्छ । समयमा नवीकरण नगरे अथवा आफ्नो कम्पनीमा रोजगारी गर्ने कामदारको भिसा, स्वास्थ्य, हेरचाह, विमालगायतका कुरामा एकदमै ख्याल गर्नुपर्ने हुन्छ । व्यवसायमा जतिबेला जे पनि हुन सक्छ । आफूसँग त्यो समयको सामना गर्नसक्ने ब्याकअप जहिल्यै चाहिन्छ । 

यी सबै कुरा समयमा पूरा गर्न सकिएन भने विदेशमा गरेको व्यापारको भर पनि कमै हुन्छ । त्यसमाथि स्पोनसरलाई बेलाबेलामा मोटो रकम दिनुपर्छ । कति बुझ्नेखालका मानवीय भावना भएका स्पोनसर हुन्छन् त कति मानवीय भावना नभई पैसाको लालची पनि हुन्छन् ।

यस्तै कुनै कुरामा असमझदारी भएपछि श्रेष्ठको यहाँका स्थानीयसँग गरेको साझेदारी टुटेको रहेछ । यस्तै साझेदारीको व्यावसाय गरेको बेला पार्टनरले अदालतमा मुद्दा लगाएका कारण गत वर्ष घर जान भनेर विमानस्थल जाँदै गर्दा विमानस्थलबाटै रोकिएर जान नपाएको दुःखद् अनुभव पनि रहेछ श्रेष्ठसँगै । हुन त उनी अरुबेला जेलमा भएका नेपालीको अवस्था बुझ्न नेपाली राजदूतावासका साथ यूएईको जेलघरहरु घुमिरहेका हुन्छन् त कहिले यूएईका नेपालीका लागि निःशुल्क स्वास्थ्यजाँच त कहिले खेलकुदजस्तै भलिबल, फुटबल र अन्य सामाजिक कामको नेतृत्व गरिरहेका हुन्छन् ।

कहिले विमानस्थलका नेपालबाट आउने अतिथि कलाकारको स्वागत गर्न नेपाली झन्डा बोकेर देखा पर्छन् त कहिले अन्यायमा परेका नेपालीको समस्या बोकेर यहाँका न्यायलय र प्रहरी कार्यालयतिर भेटिन्छन् । व्यावसायसँगै नेपाली सामाजिकक्षेत्रमा निकै अग्रणीस्थानमा रहेका छन्, श्रेष्ठ । कारण उनी एक सफल व्यवसायीमात्र नभई निडर र सहयोगी मन भएका सामाजिक अभियान्ता पनि हुन् ।

गैरआवासीय नेपाली संघ यूएईका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठलाई यूएईमा विभिन्न समस्या भोगेर सहयोगका आशामा रहेका नेपालीका लागि कहिलेकाहीँ देउता समान भइदिन्छन् । हुन त हरेक सामाजिक काममा समूहको भूमिका उत्तिकै हुन्छ, व्यक्ति हावी हँुदैन भनिन्छ तर जबसम्म नेतृत्वले परसम्म सोच्न सक्दैन तबसम्म समूह फिक्का नै हुन्छ ।

पछिल्लो समयमा नेपालीहरु भिजिट भिसाामा कामको लोभमा यूएई आउने र दलाललाई मोटो रकम बुझाएर पनि काम नपाई फिर्ता जानु परेको, एकजना नेपालीले नै अर्को नेपालीसँग काम खोजिदिने, लगाइदिने तथा अन्य विविध वाहनामा पैसा लिने र सम्पर्कमा नआउनेजस्ता थुप्रै समस्या बोकेर नेपालीहरुश्रेष्ठको कार्यालय धाउँदा रहेछन् । एकजना व्यवसायी फेरि समस्या बोकेर आउनेहरु पनि थुप्रै भेटिन्छन् कार्यालयको काम र सामाजिकको कामको व्यालेन्स मिलाउन निकै हम्मे रहेछ श्रेष्ठलाई ।

बिजशालाको समूह उनको कार्यलयमा पुग्दासमेत उनी कुनै पीडित नेपालीको सहयोगका लागि कार्यालयबाटै टेलिफोन संवादमा व्यस्त थिए । सामाजिक कामले कहिलेकाहीँ व्यावसायमा समेत असरत गर्छ नै तर पनि उनी त्यति चिन्तित भने थिएनन् । उनलाई भेट्न चाहने जुनकुनै यूएईका नेपालीलाई उनी आफ्नो कार्यालयको ठेगाना टिपाइहाल्छन् । व्यवस्थापनमा स्नातक गरेका यी युवा यूएईको दुबईमा जीसीडिएचआर म्यानेजमेन्ट कन्सल्टेन्सी, जीसीडी फ्यासिलिटी म्यानेजमेन्टलगायत तीनवटा कम्पनीका प्रबन्ध निर्देशक छन् ।

यो विरानो देशमा समेत झन्डै ५दर्जनले उनको कम्पनीमा रोजगारी पाएका रहेछन् । नेपालमा समेत जीसीडी वल्र्ड वाइड प्रालि नामको उनको आफ्नै कम्पनी छ । पहिल्लो समयमा उनको यूएईस्थित जीसीडी ह्युमन रिसोर्सले निकैलाई रोजगारीको अवसर प्रदान गरिरहेको छ ।

व्यस्त कार्यालय समयमा पनि झन्डै एक घन्टाको भलाकुसारीमा हामीले उनीसँग नेपाली कामकाजले खाडी आउँदा भोग्नुपर्ने समस्याका बारेमा समेत कुरा गर्यौ । सस्तो लोकप्रियताका लागि श्रम सम्झौताविनै सरकारले लागू गरेको फ्री भिसा फ्री टिकटका कारण खाडीको रोजगारीमा संकट ल्याएको श्रेष्ठको बुझाइ छ । सरसर्ती हेर्ने हो भने एसियामा फिलिपिन्समात्र यस्तो देश हो जुन देशसँग खाडीका सबै देशले श्रम सम्झौतामा विना शुल्क कामदार ल्याउने सहमति गरेको छ । अन्य देशका सबैले श्रम गर्न जादाँ सहजीकरण गर्ने म्यानपावरमा केही न केही शुल्क तिरेर जाने गर्छन् । सरकारले श्रम सम्झौता नगर्दा व्यवसायीहरुले जानीजानी लुकाएर व्यवसाय सञ्चालन गर्नुपरेको गुनासो पनि श्रेष्ठले हामीसँग गर्न भ्याए ।

उता केही दलालले भिजिट भिसाको व्यवसाय गर्नाले स्वतन्त्र रुपमा घुम्न जान चाहने नेपालीले समेत विमानस्थलमा सास्ती पाउने गरेका छन् । भिजिट भिसामा आउने चाहने नेपालीहरुलाई श्रेष्ठको सुझाव भनेको यूएईका बारेमा बुझेर आफ्नो विवेक प्रयोग गरेर आउनु भन्ने छ । काम गर्ने सोचमा यूएई आउनेले सरकारबाट दर्ता भएर सञ्चालन भएको मेनपावरमार्फत मात्र यूएई आउन उनले विजशालामार्फत आग्रह गरे । साथै महिलाहरुले भने नेपालबाहेक अन्य देशको विमानस्थल प्रयोग गरेर रोजगारीका लागि नआउन श्रेष्ठ सुझाव दिन्छन् ।