काठमाण्डौ । आपूर्ति मन्त्री दीपक बोहराले अखाद्य वस्तु र बढी मूल्यमा सामान बेच्नेलाई कारबाही गर्नका लागि आर्थिक दण्डसहित जरिवाना गर्ने नयाँ कानुन ल्याउन लागेको बताएका छन् । 

नेपाल खुद्रा व्यापार संघले असनमा दशैंतिहार र छठ पर्वलाई लक्षित गरी राखेको खाद्य सामग्रीको ‘मूल्य सूची ब्यानर’ उद्घाटन गर्दै मन्त्री बोहराले अखाद्य वस्तु र बढी मूल्यका वस्तु बेच्नेलाई रु १० लाख देखि रु २० लाखसम्म जरिवाना र १० वर्ष कैदको व्यवस्था गर्ने नयाँ कानुन ल्याउन लागेको बताए । 

‘उत्पादकले कमाउनुपर्दछ । तर कमाउने बहानामा जथाभावी गर्न पाइँदैन।’ उनले भने–‘अहिले कानुनमा भएको कारबाहीले पुगेन । थप कडा जरिवाना गर्न आवश्यक भएकाले आर्थिक दण्ड र कैदसम्मको कानुन ल्याउन थालेका हौँ ।’

उनले चाडपर्वका बेला मूल्य वृद्धि हुन नदिने बताए । ‘कसैले चाडपर्वको रातारात मूल्य वृद्धि गर्छ भने हामीलाई भन्नुहोस।’ उनले भने–‘ त्यस्तालाई हामीले कारबाही गर्छौं ।’ 

उनले चाडपर्वपछि पनि वस्तुको मूल्यको बारेमा एकरुपता ल्याउन वैज्ञानिक आधारमा मूल्य तोकिने जानकारी गराए ।

‘उत्पादनको लागत र भन्सारमा तिरेको बिलका आधारमा वैज्ञानिक तरिकाले मूल्य सूची तयार पार्छौ । उनले थपे–‘भन्सारमा एउटा मूल्य तिर्ने अनि उपभोक्तालाई अर्को मूल्य लिन अब पाइँदैन ।’ 

उनले खाद्य वस्तुमा म्याद सकिएको, मिसावट र रातारात मूल्य वृद्धि गर्ने उत्पादकलाई कारबाही गर्ने पनि जानकारी गराए ।

आपूर्तिमन्त्री बोहराले मूल्य वृद्धि रोक्न सबभन्दा शक्तिशाली निकाय साना व्यापारी भएको उल्लेख गर्दै साना व्यापारीले नै देशको अर्थतन्त्र धान्ने बताए ।

कार्यक्रममा आपूर्ति सचिव प्रेमकुमार राईले मूल्य सूची राखेर मूल्यवृद्धि रोक्न सहयोग पुग्ने बताए ।

उनले बजारलाई व्यवस्थित गर्नका लागि साना व्यापारीको आवश्यकता पर्ने भन्दै मूल्य सूची राख्नाले उपभोक्ता ठगिनबाट जोगिने बताए ।

आपूर्ति व्यवस्थापन तथा हित संरक्षण विभागका प्रमुख गोकुलप्रसाद ढकालले चाडपर्वपछि पनि अनुगमनलाई निरन्तरता दिने बताउँदै अब खाद्यान्न वस्तु उत्पादन हुने ठाउँ केन्द्रित भई अनुगमन गर्ने जानकारी गराए ।

सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले चाडपर्वमा उपभोक्ता नठगिउन् भन्नका लागि पसलमा मूल्य सूची राखिन थालेको जानकारी गराए ।

उनले खुद्रा पसलमा दसैँदेखि छठपर्वसम्म चामल, दाल, तेल, च्युरा, मैदा, आँटा, मसला र चिनीको मूल्य सूची राख्ने बताए ।

उनले उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा एक हजार पसलमा खाद्य वस्तुको मूल्य सूची राखिने बताए ।