-भक्तराज रसाइली 
काठमाण्डौ । मार्जिन कारोबार सुविधा ब्रोकरमार्फत धमाधम उपलब्ध भइरहेको छ । 

लगानीकर्ताले हाल नेप्सेबाट अनुमतिपत्र पाएका २१ सदस्य दलाल व्यवसायी(ब्रोकर)मार्फत ३३ सूचिकृत कम्पनीका धितोपत्रमा सो सुविधा पाउन निश्चित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । 

मार्जिन कारोबार सुविधा समबन्धी कार्यविधी,२०७५ दफा १० (२) बमोजिमको निवेदन लगानीकर्ताले ब्रोकरलाई दिनुपर्ने हुन्छ। मार्जिन ऋण उपलब्ध गराइदिने सम्बन्धमा उल्लेख गर्दै निबेदकको सामान्य आर्थिक हैसियत सहितको परिचय समेत खुलाउनुपर्छ। योसँगै कारोबारका लागि ग्राहक परिचय विवरण र अपडेटेड केवाइसी समेत भर्नुपर्छ। कर्जा सूचना केन्द्रको कालोसूचिमा नपरेको स्वघोषणा अनि एकाघर परिवारले समेत अन्य ब्रोकरसँग कर्जा नलिएको तथा नलिने सम्बन्धमा स्वघोषणा  पनि पेश गर्नुपर्ने हुन्छ।

यसैगरी, मार्जिन कारोबार गर्न ब्रोकरले भनेकै डीपीमा ग्राहकले अर्को खाता खोल्नुपर्ने हुन्छ । त्यसपछि ब्रोकरको मार्जिन पूल अकाउन्ट् जहाँ खोलेको छ, त्यहीँ ग्राहकले मार्जिन अकाउन्ट् खोल्न जरुरी छ। 

यस्तै ,मार्जिन कारोबार सुविधा समबन्धी कार्यविधि ,२०७५ को विधि १५ तथा सम्झौताको शर्त २(८)सँग स्वघोषणा तथा प्रतिबद्धता जाहेर गर्न आवश्यक छ ।

यसैगरी,कर्जा स्वीकृत भएपछि मार्जिन कारोबार सुविधाको सम्झौता तथा अन्य ऋण सम्बन्धी कागजातमा  सही तथा औंठाछाप लगाउनुपर्छ । सम्झौता ऋणको कागजातमा सहीछाप भए पश्चात् अग्रिम रुपमा मार्जिन रकम ब्रोकरलाई चेकमार्फत दिने र यसपछि मात्रै कारोबार आदेश दिन पाइन्छ।

कर्जा रकम, ग्राहकको साख सम्बन्ध ,समयावधी र रकम उपलब्धताको आधारमा ब्रोकरले उपयुक्त ब्याजदर निर्धारण गरी मार्जिन ऋण प्रवाह गर्दछन ।

समयावधि र ग्राहकको साख सम्बन्धको आधारमा थप सेवा शुल्कका रुपमा ०.१ देखि ०.५ प्रतिशत ब्रोकरले लिन सक्दछ । ब्रोकरले चाहेमा ग्राहकलाई सेवा शुल्क नलिन पनि छूट छ। 

ब्रोकरमार्फत तोकिएको मार्जिन राखी गरिने सेयर खरिदबिक्री गर्ने कार्य मार्जिन कारोबार हो।  मार्जिन ऋण भन्नाले चाहिँ मार्जिन कारोबारमा लगानीकर्ताले बुझाएको सुरु मार्जिन रकमभन्दा ब्रोकरले ऋण स्वरुप लगानी गरेको थप रकम हो।

मार्जिन कारोबार गर्नुपूर्व ब्रोकरले लगानीकर्तालाई मार्जिन खातामा जम्मा गर्न लगाउने रकमलाई सुरु मार्जिनका रुपमा बुझिन्छ । ब्रोकरले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १८० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ, सोको ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासङ्ग आदेश दिनुपूर्व नै सुरु मार्जिनको रूपमा लिइन्छ।