काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपाल र स्पेन तथा अस्ट्रेलियाबीच आर्थिक–व्यापारिक सम्बन्ध विस्तारमा जोड दिएको छ।

चेम्बरको सचिवालयमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारीहरुले स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावा फूटी शेर्पा तथा अस्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालबीच भएको भेटवार्तामा यस्तो जोड दिइएको हो । भेटवार्तामा राजदूत शेर्पाले आफूले दुई मुलुकबीच आर्थिक सम्बन्ध मजबुत बनाउन आफ्नो पहिलो अनुभव भएकोले उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निजी क्षेत्रको सुझावअनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसँग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता गरे।

अर्का राजदूत दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको र द्विपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्ययोजना बनाई सहजीकरण गर्ने बताए। उनले नेपाल निर्मित गरगहनाको निकासी बढाउन, नेपालमा लगानी अभिवृद्धि गर्न, द्विपक्षीय वाणिज्य सम्बन्ध वृद्धि गर्न, द्विपक्षीय भ्रमणको आदानप्रदान गर्न आफूले जोड दिने बताए। उनले नेपाल र अस्ट्रेलियाबीच पर्यटन प्रवद्र्धन गर्न सिधा हवाईसेवाको मूर्त रुपमा कार्य गर्न सरोकारवालासँग छलफल गर्ने बताए। न्यूजिल्यान्डमा “एभरेस्ट डे” मनाई सगरमाथा चढ्नेहरुको शिखर सम्मेलन गरी पर्यटन प्रबद्र्धन गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, खल्का पेय पदार्थको उत्पादनलगायतका क्षेत्रमा स्पेनी लगानी एवं प्रविधि भित्र्याउन कूटनीतिक पहल हुनुपर्नेमा जोड दिए। उनले विशेषगरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रबद्र्धन गर्न आर्थिक कुटनीति सक्रिय हुनुपर्ने बताए।

अध्यक्ष श्रेष्ठले औद्योगिक/व्यापारीक प्रतिनिधीमण्डलको आदानप्रदान, पर्यटन मेला, एफडीआई आकर्षण, स्पेनका लगानीकर्तासँग नेपालका लगानीकर्ताबीच भेट, लगानी सम्भावनासम्बन्धी सूचना आदानप्रदान, नेपाली निर्यातकर्ताहरुको बजार विस्तार गर्न स्पेनका सम्भाब्य आयातकर्तासँग अन्तरक्रिया गराउन पहल गर्ने, नेपालको चिया तथा कफी निर्यातका लागि स्पेनका आयातकर्तासँग सम्बन्ध बढाउने, पर्यटन, नेपाल र बार्सिलोनाबीच सोझै हवाई सम्पर्क राख्न पहल गर्न  राजदूत शेर्पाको भूमिका महत्वपूर्ण रहने बताए।

चेम्बरमा प्राप्त पछिल्लो तथ्यांकअनुसार सन् २०१८ मा स्पेनसँग ५४ लाख ८६ हजार ८४९ अमेरिकी डलरबराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा स्पेनबाट गत वर्ष सन् २०१८ मा ८२ लाख ७० हजार ५ अमेरिकी डलरबराबर आयात भएको छ भने नेपालबाट स्पेनमा सन् २०१८ मा २७ लाख ८३ हजार १५६ अमेरिकी डलरबराबर निर्यात भएको छ ।

नेपालले स्पेनतर्फ विशेषगरी तयारी पोशाक, गलैँचा, हस्तकलाका सामग्री निर्यात गर्दैै आएको र स्पेनबाट मेसिनरी पार्टपूर्जाहरु, मेडिकल उपकरणहरु तथा पेयपदार्थ आयात गर्दै आएको पाइन्छ ।

यसैबीच राजदूत दाहालसँग अध्यक्ष श्रेष्ठले नेपालका विभिन्न प्राकृतिक स्रोत, जडिबुटी, मेडिसिनल प्लान्ट, मिनिर र कृषिउत्पादन अष्ट्रेलियामा निकासीको पर्याप्त सम्भावना रहेकाले त्यसलाई पूर्ण सदुपयोग गर्न सहजीकरणको भूमिका निर्वाह गर्न आग्रह गर्दै शिक्षाको क्षेत्रमा अष्ट्रेलियाको लागानी आउनुका साथै उत्पादन, जलस्रोत, पर्यटनमा समेत सम्भावना रहेको जानकारी दिए।

सन् २०१८ मा अष्ट्रेलियासँग १ करोड १९ लाख ४३ हजार ३६३ अमेरिकी डलरबराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा अष्ट्रेलियाबाट गत वर्ष सन् २०१८ मा ७ करोड २१ लाख १४ हजार ४०६ अमेरिकी डलरबराबर आयात भएको छ भने नेपालबाट अष्ट्रेलियामा गत वर्ष सन् २०१८ मा ६० लाख २१ हजार ७५अमेरिकी डलरबराबर निर्यात भएको छ ।

भेटका सहभागीहरुले स्पेनबाट सहकारीको व्यवस्थापन, प्रविधि, पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताए भने अष्ट्रेलियासँग सामुदायिक वन विकास, कृषि विकास, “नेपाल डे” मनाउनुपर्ने, नेपाली रत्न तथा गरहना निर्यात गर्दा ड्यिुटी ड्र ब्याकको सुविधा उपलब्ध गर्नुपर्ने, दूतावासमा नेपाली निर्यात योग्यवस्तु र पर्यटनसम्बन्धी सूचनाको प्रद्र्धशन कक्ष स्थापना गरी अध्यावधिक गर्नुपर्ने, एक नेपाली एक पर्यटक, व्यापारिक, सांस्कृतिक आदानप्रदानको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।