काठमाण्डौ । साताको कारोबारको तेश्रो दिन पनि दोश्रो दिन झै नेप्से परिसूचक स्थिर देखिएको छ । 

स्थिरप्रायः बनेको नेप्से सूचकाङ्कमा आज भने कारोबार रकम बढेर २५ करोड माथि पुग्यो । कारोबार हुने समय ११ बजेदेखि ३ बजेसम्ममा सूचीकृत कम्पनीका खरिदबिक्रीमा १–२ रुपैयाँको तीव्र मोलमोलाइ देखिएको छ । यसलाई स्वभाविक पनि मान्न सकिन्छ कि बजार बियरिस ट्रेन्डमा हुँदा लगानीकर्ताहरुमा मनोवैज्ञानिक त्रास र लोभको भिडन्त हुन्छ । यही मनोविज्ञानको असर हाल दोस्रो बजारमा देखिन्छ । 

नियामक निकायहरुको नेतृत्व चयनमा भइरहेको ढिलाइ, बजार बुम हुनसक्ने खालका सम्बोधनहरुको तीव्र पर्खाइमा लगानीकर्ताहरु बसेकाले समेत खुलेर यथेष्ठ खरिदबिक्रीमा संलग्न नभएको पाइन्छ । 

नेपालको सेयरबजारमा मारवाडी समुदायको बाहुल्यता रहँदै आएको छ । सम्पत्ति शुद्धीकरणमा हाल नेपाल सरकार आक्रमक बन्दै गएको र कर प्रणालीमा पनि कडाइ गरिनुले यो समुदाय बजारबाट पलायन हुँदै गएको छ । 

बजारमा ‘ठूला लगानीकर्ता’का रुपमा चर्चा पाएका मारवाडी समुदायका विभिन्न समूहले दोस्रो बजारबाट आफ्नो हात झिकेपछि ससाना लगानीकर्ताहरुले मात्र हालको बजार धानिरहेको विश्लेषकहरु बताउँछन् । 

ठूलो फन्ड भएका ब्रोकरहरुले समेत आफ्नो लगानी बढाउन असमर्थ हुँदा बजारमा कुनै चमक आउन सकेको छैन । 

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटे पनि कारोबार रकममा वृद्धि भएको छ । यो दिन नेप्से परिसूचक ०.९९ अंकले घटे पनि कारोबार रकम बढेर २५ करोड १८ लाख रुपैयाँ पुगेको छ । 

यो दिन बजारका अधिकांश समूहमा रातो पोतिएको छ । बैंकिङ समूह ०.२ अंकले घटेको छ । विकास बैंक समूहमा भने १.०६ अंकको बढोत्तरी भएको छ । 

यसैगरी, वित्त समूहमा ३.१९ अंकले गिरावट आएको छ भने लघुवित्त समूहमा १ अंकले वृद्धि भएको छ । 

जीवन बिमा समूह ४.८९ अंकले घट्दा निर्जीवन बिमा समूहमा १६.३ अंकले घटेको छ । त्यस्तै जलविद्युत समूह ५.७ अंक, होटेल समूह ६.३९ अंक र अन्य समूह ३.०५ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन बजारमा १६१ कम्पनीका ९ लाख ७ हजार १०४ कित्ता सेयर खरिदबिक्री हुँदा २५ करोड हजार लाख ३५ हजार २८२ रुपैयाँबराबरको कारोबार भएको छ । 

यस्तै बढी कारोबार गर्नेमा साल्ट ट्रेडिङले २ करोड ६३ लाख रुपैयाँ, प्रभु बैंक संस्थापक सेयरले २ करोड ४३ लाख रुपैयाँ, प्रभु बैंकले १ करोड ५४ लाख रुपैयाँ र एभरेस्ट बैंकले १ करोड २१ लाख रुपैयाँ रहेको छ । त्यस्तै नबिल बैंक, मुक्तिनाथ विकास बैंक संस्थापक सेयर, महालक्ष्मी विकास बैंक, हिमालयन डिस्ट्रिलरी, चिलिमे हाइड्रोपावर र सानिमा बैंकले क्रमशः १ करोड २१ लाख, ९२ लाख, ८२ लाख, ७५ लाख, ७२ लाख र ६८ लाख रुपैयाँबराबरको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ग्लोबल आईएमई समुन्नत स्किम–१ का लगानीकर्ताले धेरै कमाए भने सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले धेरै गुमाएका छन् ।