काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु हुने साताको पहिलो दिन आज आइतबार नेप्से इण्डेक्समा झिनो अंकको गिरावट र कारोबार रकममा थोरै बढोत्तरी भयो । 

बिजशालाको नियमित स्तम्भ ग्राउण्ड जिरोका लागि हामी सेयर हबका रुपमा चिनिएको पुतलीसडक आसपास रहेका ब्रोकरहाउसमा जाने निधो गर्यौँ । ब्रोकरहाउसमा गएर लगानीकर्ताहरुको गन्थनमन्थन र बजारको मनोविज्ञानलाई सजीव रुपमा उतार्ने हाम्रो प्रयास रहँदै आएको छ ।

कारोबार हुने पहिलो प्रहर ११ बजे हामी पुतलीसडकस्थित ब्रोकर नम्बर २५ स्वेता सेक्युरिटीजमा पुगेका थियौं । ११ बजे सेयर कारोबार खुलेसँगै लगानीकर्ताहरुको भीड स्वेता सेक्युरिटीजमा बढ्दै थियो । नेपाल बैंक लिमिटेडको नकारात्मक वित्तीय विवरण आएको भन्दै सो ब्रोकर हाउसमा सो कम्पनीको सेयर बेच्न ट्रेडिङ कक्षतर्फ लगानीकर्ता  लम्किए । 

प्रधानमन्त्रीको खराब स्वाथ्यस्थितिले देश पनि बिरामी परेको एक लगानीकर्ताले टिप्पणी गरे । मन्त्रीमण्डल पनि परिवर्तन हुने होला नि भन्दै अर्का लगानीकर्तासँग ती लगानीकर्ताले खासखुस गरे । 

आज एनएमबी र नेपाल बैंककै सेयर कारोबार बढी हुने होला भन्दै अर्का लगानीकर्ताले कारोबार समयको सुरुवातीसँग अड्कलबाजी गरे । बजारमा ३० प्रतिशत बढी लाभांश आउने हल्लासँगै आजको टप कारोबार र धेरै सेयर खरिदबिक्री हुनेमा एनएमबी बैंक नै बन्न पुगेको छ ।

यसपछि हामी ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटीजमा पस्यौं । ८–१० जनाको झुण्डमा रहेका लगानीकर्ताहरु आपसमा घरीघरी मात्र गफिन्थे । नेपाल बैंकको रिपोर्ट आउनुअघि नै चुहाइएकोले यसको आपूर्ति आइरहेको र सेयरमूल्य घटेको भन्दै एक लगानीकर्ताले दाबी गरे । 

यसैबीच त्यहीँ रहेकी एक महिला लगानीकर्ताले बजार एकपटक पुनः तलतिर जाने दाबीसमेत गरिन् । ‘बजारको स्थिरतासँगै हामीमात्र छटपटाइरहेका छौं ।’–एक पुरुष लगानीकर्ताले भने । ‘बजारको आफ्नै गति हुुन्छ।’–अर्का लगानीकर्ताले थपे । 

‘बजार बढे पनि घटे पनि कागजमा नाफा र घाटा मात्र हुने त हो नि ।’एक लगानीकर्ताले होमा हो थप्दै लगे । अचानक सो ब्रोकरहाउसमा हरियो टिसर्ट लगाएका एक लगानीकर्ताको प्रवेश हुन्छ । ‘हरियो टिसर्ट लगाउनु भएछ, बजार हरियै बनाउन लाग्नुभयो कि कसो ?’एक लगानीकर्ताले ठट्यौली पारामा भनेका सुनियो ।

यसपछि हामी ब्रोकर नम्बर ३७ स्वर्णलक्ष्मी सेक्युरिटीजतर्फ मोडियौं । हामी पुगेको केहीसमय पछि एक लगानीकर्ताले बजार नसोचेको घट्यो भन्दै चिन्ता मानिरहेका भेट्यौं । ‘किनेपछि घट्दो रहेछ, बेचेपछि बढ्दो रहेछ।’–एक लगानीकर्ताले गुनासो पोखे । 

आगामी उपनिर्वाचनपछि सरकार पुनगर्ठन हुँदा अर्थमन्त्री खतिवडा आउट भए बजार बढ्थ्यो कि भन्ने लगानीकर्ता पनि त्यहाँ भेटिए । उनले अर्थमन्त्री आउट भए २ सय अंकले नै बढोत्तरी होला कि भन्दै अड्कलबाजी मारे । 

त्यससँगै त्यहाँ रहेका लगानीकर्ताहरु बजारलाई बिर्सिएर नेपाल–भारत सिमानाको विषयमा समेत बहस गरिरहेका थिए । ‘हिजो आएको राष्ट्रिय धारणा निकै सकारात्मक लाग्यो मलाई त ।’एक लगानीकर्ताले बोले । उनीहरुले नेताहरुकै कारण देश बिग्रेको भन्न समेत भ्याए ।

यसपछि हामी त्यसैको छेउमा रहेको ब्रोकर नम्बर १६ प्राइमो सेक्युरिटीजमा उक्ल्यौं । ८–१० जना लगानीकर्ताको जमात भेटिएको सो ब्रोकर हाउसको डिस्प्ले कक्षमा कारोबार रकम कम भएकोमा चिन्ता व्यक्त गर्दै थिए । 

बजार घटेकाले हामीमा सुस्तता र निन्द्रा लागेको एक लगानीकर्ता सुनाउँछन । राजनीतिमा धेरै समयपछि बहुमतको सरकार बनेता पनि नेप्से भने ओरालो लाग्यो भन्दै एक लगानीकर्ताले राजनीतिक गफ चूटे । 

हुन पनि पूँजीबजारसँग सम्बन्धित नीति नियम, निर्देशनमा बहुमतको सरकारले सकारात्मक प्रभाव पार्ने अधिकांश लगानीकर्ताको चाहना र अड्कल थियो । त्यहीँ भेटिएका एक लगानीकर्ता भने ‘पैसा भयो भने सकसक हुँदो रहेछ, सेयरमै हालिन्छ,अनि फसिन्छ । सेयरमा लगानी नशा रहेछ’ भन्दै फटफटाइरहेका भेटिए ।

हामी करिब २ बजेको आसपास प्रदशर्नी मार्गमा रहेको ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटीजभित्र छिर्यौँ । बाक्लो उपस्थिति देखिएको सो ब्रोकर हाउसमा देखिएका एक पाका लगानीकर्ताले ‘यो वर्ष बूल नै नदेखिने भयो’ भन्दै चिन्ता गरेको पायौं । यत्तिकैमा केही छिनमा बाहिर जुलुसको आवाज आउँदा केही लगानीकर्ता लिपुलेकको जुलुस आयो भन्दै हेर्न उ्ठे । 

यसैबीच, हामी ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटीजमा पनि पस्यौं । सो ब्रोकरहाउसमा उक्लेर डिस्प्ले कक्षमा पस्दा दवाब समूहका नेता गोपाल स्वामी र अर्का नचिनेका लगानीकर्ता देखिए । त्यहाँ कुनै कुराकानी हुने छाँटकाट थिएन । कारोबार कक्ष नजिकै राखिएको कम्प्युटर अगाडि ४–५ जना युवा लगानीकर्ताहरु हाँस्दै बसिरहेका भेटिन्थे भने रिसेप्सन छेउमा रहेको सोफामा एकदुई जना लगानीकर्ताहरु मोबाइलमा मग्न देखिए ।