काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले संघीय संरचनाअनुसार प्रादेशिक स्तरमा ब्रोकर कम्पनीहरुका शाखा विस्तारका लागि ढोका खुला गरेको छ । 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुले संघीय संरचनाअनुसार प्रादेशिक स्तरमा धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धात्मक रुपमा विस्तार गर्न धितोपत्र दलाल व्यवसायीको शाखा विस्तारका लागि पूर्ण तयारीसँगै ढोका खुल्ला गरिएको हो । 

उनले आवेदन माग भए धितोपत्र दलाल व्यवसायीको शाखा विस्तारका लागि अनुमति दिइने जानकारी दिए । ‘प्रत्येक ब्रोकरले आवश्यक विस्तृत पूर्वाधार तयार गरी नेप्सेमा निवेदन दिइए शाखा विस्तारका लागि अनुमति दिन सकिन्छ।’–उनले भने । 

गत वर्ष मंसिर १७ गते नियामक नेपाल धितोपत्र बोर्डले संघीय संरचनाअनुसार धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्ने कार्य अगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डले धितोपत्र वस्तु तथा विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा धितोपत्रको दोस्रो बजारको पहुँच विस्तार गरी धितोपत्र बजारमार्फत स्थानीयस्तरमा रहेको बचत तथा लगानीलाई दीर्घकालीन पूँजी परिचालनको मूल प्रवाहमा ल्याउन आर्थिक रुपमा सम्भाव्य जिल्ला÷स्थानहरुमा धितोपत्र दलाल सेवा सञ्चालन अनुमति दिने कार्यक्रम निर्धारण भएअनुरुप स्थानीयस्तरमा रोजगारी वृद्धि हुने तथा धितोपत्रको दोस्रो बजार कारोबार सुविधासमेत देशव्यापी रुपमा विस्तार भई समग्र पुँजीबजारको दायरा फराकिलो हुने जनाएको थियो । 

हाल धितोपत्र दोस्रो बजारमा उपत्यकाभित्र ५० वटा स्टक ब्रोकरहरुले सेवा दिइरहेकोमा उपत्यका बाहिर तिनै ब्रोकरले ४७ स्थानमा शाखामार्फत धितोपत्र खरिदबिक्रीको सेवा दिइरहेका छन् ।

स्टक ब्रोकर्स एशोसिएसनका अनुसार गत वर्षको माघ २ गते बोर्ड र नेप्सेलाई विभिन्न ब्रोकर कम्पनीले थप ८६ स्थानका लागि ३३२ वटा शाखा बिस्तारको माग गर्दै आवेदन दिइसकेका छन् । 

तर, नेप्सेका प्रवक्ता पराजुलीले भने ब्रोकरले आवश्यक पूर्वाधार खडा गरी बजार अध्ययनका साथमा नेप्सेमा पुनः आवेदन दिनुपर्ने बताउँछन् ।