काठमाण्डौ । गत सातादेखि चिसिँदै गरेको तापक्रममा नेप्से इन्डेक्सको पारो भने झन तात्तिँदै गएर यो साताको कारोबारको अन्तिम दिन बिहीबार दोहोरो अंकको वृद्धिसँगै पौने अर्ब बढी कारोबार सम्पन्न भएको छ । करिब तीन महिना ‘साइड वेज’ मा रहेको सेयरबजार गत साताको सुरुआतीदेखिको वृद्धि अनुशासित रुपमा कायमै छ ।
लघुवित्त उपसमूहका लगानीकर्ताहरु मालामाल भइरहेका बेला आजबाट जीवन र निर्जीवन बिमाका लगानीकर्ताहरुसमेत धितोपत्र दोस्रो बजारबाट मालामाल हुन थालेको देखिन्छ । आजको दिन सबैभन्दा धेरै कमाउने १० कम्पनीमध्ये ७ वटामात्रै बिमा उपसमूहका छन् । लघुवित्तहरुले घोषणा गरेका आकर्षक लाभांशसँगै निकट समयमा जीवन र निर्जीवन बिमा कम्पनीहरुले समेत आकर्षक लाभांश पाउने आशमा लगानीकर्ताहरु बिमा उपसमूहमा झुम्मिएको देखिन्छ ।
एक पुराना र अनुभवी ब्रोकरले हालको बजारलाई बुलिसको प्रारम्भ र बियरिसको यु–टर्न भएको जिकिर गरेका छन् ।
साताको कारोबारको अन्तिम दिन हिजोको तुलनामा नेप्से इन्डेक्स ११.१७ अंकले बढोत्तरी भई ११ सय ७२.६४ पुग्दा सेन्सेटिभ इन्डेक्स ०.४१ अंकले सकारात्मक हुँदा २५५.६० अंक कायम भयो ।
आजको दिन नेप्सेमा सूचीकृतमध्ये १६८ कम्पनीका २१ लाख २ हजार ६१ कित्ता सेयर ७६ करोड ४० लाख २५ हजार २१३ रुपैयाँमा कारोबार भयो ।
यो दिन १२ उपसमूहमध्ये ७ वटामा हरियाली छायो भने ५ वटामा रातो पोतियो । यो दिन जीवन बिमा र निर्जीवन बिमा समूह चम्कियो । दुवैको क्रमशः ३३२.०४ अंक र २७८.६९ अंकको बढोत्तरी भयो ।
यसैगरी आजको दिन बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त र म्युचुअल फन्डमा क्रमशः २.८२, २.७२, २८.९७, १.४ र ०.०९ अंकले बढ्यो ।
उता उत्पादन तथा प्रशोधन, व्यापार, लघुवित्त, होटेल्स र अन्य समूहमा क्रमशः ४४.९८, १९, ८.२२, ३.७ र १.९४ अंकको गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आजको दिन उच्च कारोबार कम्पनीहरुमा ७ वटामा बिमा कम्पनीहरुले ठाउँ ओगटे । यद्यपि उच्च कारोबार भने स्वावलम्बन लघुवित्तले गर्यो । यो कम्पनीको मात्र करिब ८ करोड २८ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो । त्यस्तै डिप्रोक्स लघुवित्तले ४ करोड १० र एनएमबी बैंकले ३ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार गरे ।
यसैगरी नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, नेपाल इन्स्योरेन्स, एसिया लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स र प्रभु बैंकले क्रमशः ३ करोड ६६ लाख, २ करोड १ लाख, १ करोड ८६ लाख, १ करोड ४५ लाख, १ करोड ४५ लाख, १ करोड ४२ लाख र १ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार गरे ।
सबैभन्दा धेरै कमाउने र गुमाउने
आजको दिन धेरै कमाउने १० कम्पनीहरु सबैको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढोत्तरी भयो । यो दिन एभरेस्ट इन्स्योरेन्स कम्पनीको सेयरधनीहरुले राम्रो कमाए । यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लाग्यो ।
त्यस्तै सूर्य लाइफ इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, हिमालय ऊर्जा, आईएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, नेपाल सेवा लघुवित्त र हिमालयन पावरका सेयरधनीहरुले धेरै कमाए । यी सबै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
यो दिन गुराँस लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) का सेयरधनीहरुले धेरै गुमाए । दुवै कम्पनीको सेयरमूल्यमा आज ५ प्रतिशतको हाराहारीमा गिरावट आयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago