काठमाण्डौ । बुल रन सुरु भएको बजारमा बुधबार खरिद र बिक्रीकर्ताबीच तीव्र मोलमोलाई चल्दा नेप्से परिसूचक स्थिर बनेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आए पनि नेप्से परिसूचक भने ०.२७ को झिनो अंकले मात्र घट्यो । दिनभर बजारमा बेच्ने र किन्नेबीच रस्साकस्सी चली नै रह्यो । बजारमा १ अर्ब २९ करोड बढीको कारोबार हुनुले १–२ रुपैयाँ मूल्य घटाएर सेयर किन्नेहरु अझै पनि प्रशस्त छन् भन्ने देखिन्छ । बेच्नेहरुले पनि १–२ रुपैयाँमै बार्गेन गरेको देखियो । 

नेप्से परिसूचक स्थिरप्रायः रहनु र कारोबार रकम पनि १ अर्ब माथि नै रहनुले बजारले आफ्नो लय बिर्सिएको छैन भन्ने बुझिन्छ । यस्तो बजारमा खरिदकर्ताको चाप थोरैमात्र बढ्यो भने फेरि हरियाली छाउने सम्भावना रहने विश्लेषकहरु बताउँछन् ।

पछिल्लो समय बजारमा लगानी गर्नेहरुले कम्पनीको लाभांश इतिहास तथा महत्वपूर्ण वित्तीय सूचकलाई हेर्नुभन्दा हकप्रदको लोभमा पैसा खन्याइरहेका विश्लेषकहरु बताउँछन् । बजारले सर्वोच्च उचाइ चुम्दा हकप्रदमा लोभिएका लगानीकर्ता अहिले पनि चेत्न सकिरहेका छैनन् । हकप्रद कम्पनीको प्रतिफल होइन । यो त उल्टै लगानीकर्ताहरुलाई थप भार बोकाउने कम्पनीको नीतिमात्र हो । यसबाट लगानीकर्ताहरु हकप्रदमा फस्नुभन्दा आकर्षक लाभांश र कम्पनीको ग्रोथलाई विश्लेषण गरी धितोपत्र दोस्रो बजारमा लगानी गर्दा सुरक्षित हुने जानकारहरु बताउँछन् ।

डिप्रोक्स लघुवित्तसँग नाडेप लघुवित्त मर्जरमा जाने बजारमा व्यापक हल्ला चलाएर सेयर कर्नरिङ गर्ने र उच्च मूल्यमा सोझा लगानीकर्तालाई फसाउने चलखेल भइरहेको स्रोतको दाबी छ । यी दुई संस्थाहरुबीच मर्जरको कुरा चले पनि स्वाप रेसियो र सञ्चालकहरुका कारण मर्जरका विषयमा तत्काल निष्कर्ष आउन नसक्ने स्रोत दाबी गर्छ ।

बुधबारको कारोबार रकम र नेप्से परिसूचक झिनो गिरावटलाई हेरेर बजार घट्दो ट्रेन्डमा छ भन्न नहुने जानकारहरु बताउँछन् ।

आजको दिन नेप्से उपसमूह रहेकामध्ये चार समूहमा मात्र हरियाली छायो भने आठ समूहमा रातो पोतियो ।

निर्जीवन बिमा समूहमा ९७.१९ अंकको बढोत्तरी आएको यो दिन लघुवित्त समूहमा ९०.९५ अंकले वृद्धि भयो । व्यापार र होटेल्स् समूह पनि क्रमशः १६.३ र १६.१६ अंकले बढ्यो ।

आज बैंकिङ समूहमा ७.९६ अंक, विकास बैंक समूहमा ५.२३ अंक, जलविद्युत् समूहमा ७.१३ अंक, वित्त समूहमा २.२२ अंक, उत्पादन तथा प्रशोधन समूहमा १२.४५ अंक, अन्य समूहमा १.९९ अंक, जीवन बिमा समूहमा ३२.८७ र म्युचुअल फन्ड समूहमा ०.१४ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृत १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता सेयर १ अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ रुपैयाँमा कारोबार भयो । 

मर्जरकै हल्लाका कारण आजको दिन नाडेप उच्च कारोबारसँग यसको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यो कम्पनीले ६ करोड ३८ लाख रुपैयाँको कारोबार गर्यो ।

शिखर इन्स्योरेन्सले ६ करोड २२ लाख रुपैयाँको कारोबार गरेको यो दिन छिमेक लघुवित्तले ५ करोड ६५ लाख रुपैयाँको कारोबार गर्यो । नेपाल लाइफ इन्स्यारेन्सले ४ करोड ९० लाख, स्वावलम्बन लघुवित्तले ४ करोड ३० लाख, प्रभु बैंकले ३ करोड ८८ लाख, ग्रामीण विकास लघुवित्तले ३ करोड ७५ लाख, फस्र्ट माइक्रोफाइनान्सले ३ करोड ६३ लाख, ग्लोबल आईएमई बैंकले ३ करोड ४१ लाख र एभरेस्ट इन्स्योरेन्सले २ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भयो ।

धेरै कमाउने र धेरै गुमाउने

आजको दिन नाडेप लघुवित्तका सेयरधनीहरु राम्रो कमाए । यो कम्पनीको सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट लाग्यो ।

त्यस्तै नेरुडे लघुवित्तको सेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीको बढोत्तरी भयो। नेपाल सेवा लघुवित्तको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको यो दिन गुराँस लघुवित्त, आरएमडीसी लघुवित्त र आईएमई जनरल इन्स्यारेन्सको मूल्यमा पनि ८ प्रतिशतभन्दा बढीले बढ्यो ।

आजको दिन प्रोग्रेसिभ फाइनान्स र नेपाल हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए । यी दुवैको सेयरमूल्यमा क्रमशः ५.५० र ४.५८ प्रतिशतले गिरावट आयो ।