काठमाण्डौ । धितोपत्र दलाली बापत लिने सेवाशुल्क(कमिसन) नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)लाई समेत तिर्नुुपर्दा सेयर लगानीकर्ताहरुमा अतिरिक्त भार र मार परेको बजारसम्बद्ध विज्ञहरुले बताएका छन् । 

धितोपत्रको दोस्रो बजारमा ब्रोकर कमिसनबाट नेप्सेले पनि आफ्नो भाग लैजाने परिपाटी गलत भएको पूँजीबजार विज्ञ डा. मनोहरकृष्ण श्रेष्ठको दाबी छ । 

नेप्सेले मात्र हैन कि स्वायत्त निकायका रुपमा रहेको सरकारी नियामक बोर्डले कारोबारैपिच्छे सेबो कमिसनका नाममा पैसा असुल्ने प्रवृत्तिले लगानीकर्ताको ढाड सेकिरहेको उनको भनाई छ । 

‘अन्तर्राष्ट्रिय अभ्यास अनुसार नियामक निकाय(नेपालमा नेपाल धितोपत्र बोर्ड)लाई सरकारी फण्ड दिइने व्यवस्था हुन्छ, तर नेपालमा लगानीकर्ताबाटै कमिसन उठाउने अभ्यास चाहिँ सरासर गलत हो।’उनले भने–‘सुरुवाती ताका स्टक एक्सचेञ्ज बाँच्नलाई कमिसन उठाउनु स्वभाविक हो, तर हाल अत्याधिक नाफामा गइसकेको र रिजर्भसमेत करोडौ थुपारेको नेप्सेको कमिसन उठाउने काम राम्रो होइन । बोर्ड र नेप्सेले कमिसन उठाइरहँदा लगानीकर्ता हितका लागि भने आजसम्म सिन्का भाँच्ने काम गरेको छैन ।’ 

लगानीकर्ताबाट कमिसन खाने तर तिनै लगानीकर्ता हकहितका लागि निर्देशिका बनाउन किन कञ्जुस गर्छ बोर्ड ? भन्दै उनले प्रश्न तेर्साए । नेप्सेले बोनस दिने पैसा अनलाइन सफ्टवेयरको विकासमा खर्च नगरेकोमा उनले आपत्ति समेत जनाए ।

हाल लगानीकर्ताले ब्रोकरलाई तिरेको कमिसनबाट २० प्रतिशत नेप्सेले लैजान्छ, जुुन रकम कारोबार राफसाफ भएकै बखत नेप्सेले कमिसनबापतको २० प्रतिशत लगिरहेको छ । बोर्डले पनि कमिसनबाट ब्रोकरहरुबाट ०.०६ प्रतिशत लैजान्छ भने लगानीकर्ताहरुबाट ०.०१५ प्रतिशत कमिसन उठाइरहेको छ । बोर्ड कमिसन उठाउने मामलामा झन् आक्रामक देखिएको छ । बोर्डले लगानीकर्ता र ब्रोकर दुवै पक्षबाट कमिसन असूल गरिरहेको पाइन्छ । 

बोर्ड र नेप्सेमा उच्च प्राविधिक दक्षता हासिल नगरेका र आइटी क्षेत्रमा समेत ठूलो लगानी लगाउन नपर्ने भएकाले लगानीकर्ताहरुबाट अराजकरुपमा कमिसन उठाउने कार्य तत्काल बन्द गरी कमिसन समायोजन गर्नुपर्ने लगानीकर्ताहरुको माग छ । 

दुवै नियामकहरुमा करिब १५० जना कर्मचारी मात्र खटिएका छन् । दुवै नियामकको खर्चसमेत कम छ  । यसरी बजार विकास तथा विस्तारका लागि अध्ययनअनुुसन्धानमा गर्ने लगानीमा झारा टार्ने काम गरका बोर्ड र नेप्से भने नियामक बोर्ड र नेप्सेले सूूचीकृत कम्पनीहरुबाट पनि सेवाशुुल्क लिएर आम्दानी बढाइरहेका छन् भने ब्रोकरहरुबाट समेत नवीकरणीय शुल्क लिने गर्दछन् । 

बैंकहरुको नियामक नेपाल राष्ट्र बैंकले समेत ग्राहकहरुबाट कमिसन उठाउँदैनन् । यता बीमा कम्पनीहरुको नियामक बीमा समितिले समेत ग्राहकबाट अतिरिक्त कमिसन लिएको छैन ।