काठमाण्डौ । कोरोनाका कारण अति विपन्न परिवार समस्यामा छन् । अझ शहरी क्षेत्रका गरीब तथा मजदूरहरुको अवस्था दर्दनाक बन्न थालेको छ । 

सरकारले यस्ता परिवारलाई लक्षित गरी राहातको घोषणा त गरेको छ, तर ग्राउण्ड रियालिटी भने दर्दनाक बन्न थालेको छ । 

सरकारले राहात घोषणा गरेपछि त्यस्ता गरीबहरुको बल्ल लागत संकलन सुरु भएको छ, स्थानीय निकायबाट । केन्द्र सरकारबाट राहात घोषणा, स्थानीय सरकारलाई निर्देशन, निर्देशन अनुसार स्थानीयबाट लगत संकलन कार्य सक्ने र त्यसपछि संकलित लागत अनुसार गरीबको पहिचान, राहात जुटाउने कार्य र त्यसपछि मात्र ती गरीबले राहात पाउने अवस्थाका कारण काठमाण्डौमै पनि गरीबहरु भोकभोकै पर्न थालेका छन् । 

कतिसम्म भने काठमाण्डौका मुख्य ठाउँका घनावस्तीहरुमा त्यस्ता गरीब परिवार धनीका घरमा बालबच्चाको भोक र प्यास मेट्याउन रुँदै खाना मागिरहेका कारुणिक दृश्यहरु देखिन थालेका छन् । यसले ज्यालादारी मजदूरहरुको अवस्था कुन हदसम्म बिग्रिएको छ र उनीहरुलाई भोकले कुन हदसम्म सताउन थालेको छ भन्ने प्रष्ट्याउँछ।

तलको भिडियोमा देखिएको दृश्य केहीबेर अघि(मंगलबार साँझ ६ः३०बजेतिरको) काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिकाको काँडाघारी क्षेत्रमा देखिएको हो । जहाँ एक अधवैंशे महिला दुई बच्चासँगै आफ्ना बच्चा भोकै परेका भन्ने बिलौना गर्दै, रुँदै सहयोग मागिरहेकी छिन् । 

उनले एक वर्षजस्तो देखिने बच्चा पिठ्यूमा राखेर र अर्का ८ वर्षजस्तो देखिने बच्चालाई झोला बोकाएर घर घरमा ‘मेरा बच्चाहरु भोकै परे, केही खाना सहयोग गरिदिनुहोस् न’ भन्दै राहात मागेकी थिइन् । 

एउटी आमाले रुँदै कराउँदै संकटको बेला आफ्ना मुटुका टुक्राहरुको भोकप्यास मेट्न गरेको प्रयास र अनुनय कारुणिक देखिन्थ्यो । 

नेपालीहरु मनका औधी धनी र दयालू छन् । समस्यामा परेकाहरुको समस्या र दुःख देख्न सक्दैनन् । सायद नेपालीहरुको यही राम्रो बानीका कारण होला, घर घरमा आफ्ना बालबच्चाको भोक मेट्याउन अनुनय गरिरहेकी ती महिलालाई प्रत्येक घर, प्रत्येक घरमा डेरा बस्ने प्रत्येकले सहयोग गरेका थिए ।

ती महिलाका अनुसार उनको स्थायी बसोबास दोलखा हो । उनी काँडाघारीकै बाबाचौकमा डेरा गरी बस्छिन् । उनी दैनिक ज्यालादारी गर्ने मजदूर हुन् । 

लामो लकडाउनले दैनिक काम ठप्प भएपछि उनको घरमा बच्चालाई खुवाउने खाना सकियो । साथमा पैसा थिएन । एक दिन पानीको भरमै बसिन् । उनीसँग बच्चाहरुको भोक टार्ने अन्य उपाय थिएन र शहरका धनीसँग माग्ने निधोमा पुगिन् । 

उनले कतिपयसँग आफ्नो घरमा खाना पकाउने ग्यास समेत नभएको, ग्यास सकिएका कारण किन्ने पैसा नभएको र घरबेटीले स्टोभ बालेको भनेर कोठाबाट निकाल्न खोजेको गुनासो समेत गरिरहेकी सुनिन्थ्यो । 

एक महिलाले लालाबाला च्यापेर रुँदै, आँसु पुछ्दै घरघरमा खाना मागिरहेको दृश्यले धेरैको आँखा रसाएका थिए । यी मजदूरलाई थाहा पाउने र देख्नेजति सबैले आफ्नो ल्याकत अनुसार सहयोग गरे । त्यो सहयोगबाट यी महिलाका बालबच्चाको भोक केही दिनका लागि टारिएला । तर, काठमाण्डौभरि नै यस्तो अवस्थामा मजदूर परिवार कति होलान् ? उनीहरुको अवस्था के होला ? उनीहरुको भोक कस्ले टार्ने ? उनीहरुको भोको पेट सरकारको निर्णय प्रक्रिया र राहात हस्तान्तरण प्रक्रियाको पट्यारलाग्दो र लामो प्रक्रियाले भरिन्छ ? यस्ता अति आवश्यक विपन्न परिवारलाई तत्काल राहात दिइहाल्ने विषयमा अब सोच्ने हो कि ?