काठमाण्डौ । सरकारले बनाएको कोरोना सहयोग कोषमा पूर्व राजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । 

मंगलबार एक ट्वीटमार्फत उनले यसको विषयमा जानकारी गराएका हुन् । 

उनले ट्वीट गर्दै भनेका छन्-'विपदको यो घडीमा सबैका साथमा साथ दिदैं हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष“ मा दाखिला गर्न बुझाएका छौं। यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं।

पूर्वराजा शाहको सचिवालयले पनि यो विषयमा एक विज्ञप्ति जारी गर्दै २ करोड रुपैयाँ सहयोगको घोषणा भएको जनाएको छ ।' 

विज्ञप्तिमा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैरसरकारी पक्षबाट प्रशंसनीय काम भइरहेको भन्दै यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

उनले सबै नागरिकहरुलाई लकडाउनको अवधिमा अनुशासित भएर बसिदिन र गैरजिम्मेवार नबनिदिन समेत आग्रह गरेका छन् । 

पूर्वराजा शाहले महामारीको अवस्थामा आफ्नो ज्यानको परवाह नगरी खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायतको भूमिकाको प्रशंसा गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्–‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर  योगदान पुर्याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति हामी आभारी छौँ ।’

उनले सबैले आफ्नो पक्षबाट सक्दो सहयोग गर्नुपर्ने आवश्यकतामा समेत जोड दिएका छन् ।