काठमाण्डौ । कोरोना संक्रमित एक युवतीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले टेलिफोन गरी ढाडस दिएका छन् । 

धौलागिरी अस्पतालमा उपचार गराइरहेकी १९ वर्षीया अंशु सापकोटासँग टेलिफोन संवाद गरी मुख्यमन्त्री गुरुङ स्वास्थ्य अवस्था बुझ्दै नअत्तालिन आग्रह गरेका हुन् । 

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले मुख्यमन्त्री र अंशुबीचको टेलिफोन संवाद भइरहेको भिडियो फेसबुकमा सेयर गरेका छन् । 

भिडियोमा मुख्मन्त्री गुरुङले 'तपाईलाई कस्तो छ बहिनी, म मुख्यमन्त्री बोलेको' भनेर संवादको थालनी गरेका छन् । 

उनले अंशुलाई ढाडस दिंदै भनेका छन्-'राम्रो हुन्छ नआत्तिनुहोला । तातोपानी पर्याप्त पिउनुहोला, चिसो चिज केही नखानुहोला ।' 

उनले आफूले डाक्टर र नर्सहरुलाई दैनिक टेलिफोन गरी राम्रो हेरविचार गर्न भनिरहेको र हरदम तातोपानीको व्यवस्था गर्न समेत भनिदिएको उल्लेख गरेका छन् । 'डाक्टर दिनमा कतिपट आउनुहुन्छ ?' भन्दै मुख्यमन्त्री गुरुङले सोधेका छन् । अंशुले दिनमा एकपटक पनि नआउने गरेको र फोनबाटै निर्देशन दिने गरेको बताएकी छिन् । 

मुख्यमन्त्री गुरुङले सम्झाउँदै अंशुलाई भनेका छन्-'आनन्दले बस्नुहोला, आत्तिनु पर्दैन, अवस्था खासै गम्भीर पनि छैन । तपाईको अझै ३–४ पटक टेस्ट गर्नुपर्छ । केही अवधि बढी बसेपछि पूरै रोग निख्रिएपछि मात्र घर जानुपर्छ । दिनदिनै फोन गरिरहेको छु । मन दह्रो बनाउनुहोला, तपाईलाई केही पनि हुन्न । म फेरि फोन गर्छु । नअत्तानिुहोला, ढिलो चाँडो मात्र हो निको हुन्छ है ।’

भिडियो यस्तो छः