काठमाण्डौ । प्रदेश २ सरकारले कोरोनाभाइरस रोकथाम तथा उपचारमा संलन सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुको मृत्यु भएमा ५० रुपैयाँ दिने घोषणा गरेको छ। 

प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकले रोकथाम तथा उपचारमा संलग्न हुने निजामती वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी वा अन्य कर्मचारी तथा पदाधिकारी कसैको मृत्यु भएमा उक्त रकम प्रदान गर्ने निर्णय गरेको छ। 

यसैगरी बैठकले किसान लिएको ऋणको ४ महिनाको ब्याज तिरिदिने निर्णय गरेको छ। 

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी रुपमा गरिएको लकडाउनका कारण प्रभावित किसानले बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको ब्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको हो। प्रदेश सरकारले किसानहरुले ५ लाख रुपैयाँसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ४ महिनाको र ५ लाखदेखि १५ लाख रुपैयाँसम्मको ऋणमा १२ प्रतिशतसम्मको ब्याजदरमा ५० प्रतिशत तिरिदिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए। 

यसैगरी १५ लाखदेखि ३० लाख रुपैयाँसम्मको ऋणमा ४० प्रतिशत र ३० लाख रुपैयाँभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरेबमोजिम व्याज तिरिदिने निर्णय प्रदेश सरकारले गरेको छ। 

प्रदेश सरकारले दूध, फलफूल, तरकारी, कुखुरा तथा माछापालक किसानलाई थप राहत दिने निर्णय पनि गरेको छ।