काठमाण्डौ । कोरोनभाइरसबाट संक्रमित ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन एक साता लामो अस्पतालबाट बसाइपछि आइतबार साँझ डिस्चार्ज भएका छन्।

प्रधामन्त्री कार्यालयले जोन्सनलाई अस्पतालले डिस्चार्ज गरेको पुष्टि गरेको हो। कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री ५५ वर्षीय जोन्सनलाई गत आइतबार लन्डनस्थित सेन्ट थमस अस्पतालमा भर्ना गरिएको थियो। जोन्सनलाई अस्पतालमा ४ दिन आईसीयूमा राखेर वार्डमा सारिएको थियो।

प्रधानमन्त्री जोन्सनलाई कोरोनाको लक्षण देखिएको १० दिनपछि स्वास्थमा समस्या देखिन थालेपछि अस्पताल भर्ना गरिएको थियो। त्यसअघि उनी सेल्फ आइसोसेलनमा बसेका थिए। 

प्रधामन्त्री कार्यालयले जोन्सन अस्पतालबाट डिस्चार्ज भए पनि केही दिन अझै कामबाट टाढा रहने जनाएको छ। ‘चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री जोन्सन अझै केही दिन काममा फर्किने छैनन्’, प्रधानमन्त्री कार्यालयबाट प्राप्त सूचनामा भनिएको छ।

अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री जोन्सनले भिडियो सन्देशमार्फत अस्पतालका चिकित्सकदेखि लिएर सबैलाई धन्यवाद दिएका छन्। उनले यो महामारीको चपेटमा पर्ने सबैलाई शीघ्र स्वास्थ्य लाभको मना पनि गरेका छन्। 

प्रधानमन्त्री जोन्सनले ब्रिटिस नेसनल हेल्थ सिस्टमप्रति आभारमा प्रकट गरेका छन्। उनले जनतालाई सामाजिक दूरीको नियम पालना गर्न पनि अनुरोध गरेका छन्। 

ब्रिटेनमा यो महामारीबाट अहिलेसमम १० हजारभन्दा बढीको ज्यान गइसकेको छ। – एजेन्सी