काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन्।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको महामारी नसकिन्जेलसम्म पारिश्रमिक नलिने घोषणा गरेका हुन्। उनले आफ्नो पारिश्रमिक कोरोना राहात कोषमा जम्मा गर्ने पनि बताएका छन्। 

‘आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा हो’, उनले सन्देशमा भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले यो भाइरस नसकिन्जेलसम्म मैले आफ्नो पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु।’

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको संघर्षमा मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव, ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट पनि गरेका छन्।

प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सहभारवहन सबैले मिलेर गर्नुपर्नेमा जोड दिएका छन्।

‘देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनुपर्छ’, उनले भनेका छन्, ‘विश्वव्यापी यस संकटको समाधान, विश्वव्यापी साझेदारी र सहयोगबाट मात्र सम्भव छ।’