काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस रोकथामका लागि बीसीजी भ्याक्सिन उपयोग हुने कुनै प्रमाण फेला नपरेको जनाएको छ।

विभिन्न सञ्चारमाध्यमहरुले बीसीजी भ्याक्सिन कोरोना रोकथामका लागि फाइदाजनक भएको समाचार प्रकाशित गरिरहेकै बेला डब्ल्यूएचओको यस्तो वक्तव्य आएको हो। कुनै प्रमाणिक तथ्य फेला नपरेकोले डब्ल्यूएचओले यो भ्याक्सिन कारोनाभाइरस रोकथामका लागि प्रयोग गर्न सिफारिस नगर्ने स्पष्ट पारेको छ। ‘पशु र मानिस दुवैमा गरिएको शोधले एक्सपेरिमेन्ट एभिडेन्सले बीसीजी भ्याक्सिनले इम्युन सिस्टममा गैरविशिष्ट प्रभाव पार्छ तर ती प्रभावको राम्ररी विशेषताहरु र क्लिनिकल उपयोगिताका प्रमाणहरु आउन सकेका छैनन्’, डब्ल्यूएचओले भनेको छ। 

अहिले बीसीजी खोप कोरोना रोकथाममा उपयोगी हुने वा नहुने भन्ने विषयमा दुईवटा क्लिनिकल ट्रायल भइरहेको पनि डब्ल्यूएचओले जनाएको छ। ‘यी क्लिनिकल ट्रायलबाट आउने नतिजापछि मात्र सही मूल्यांकन गरेर यो उपयोगी हुने वा नहुने सिफारिस गरिनेछ’, डब्ल्यूएचओले भनेको छ। 

बीसीजी भ्याक्नि क्षयरोग (टीबी) रोकथामका लागि सानैमा बालबालिका दिइन्छ। यदि कोरोना रोकथाम उपयोगी हुने भन्दै अहिलेदेखि नै यसको मागसँगै आपूर्ति बढाउँदै लैजाने हो भने भविष्यमा गम्भीर समस्या हुन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ। ‘यसले गर्दा क्षयरोग नियन्त्रणका लागि आवश्यक बीसीजी भ्याक्सिन नपाइने समस्या उत्पन्न हुन सक्छ’, डब्ल्यूएचओले भनेको छ, ‘जसका कारण क्षयरोगका कारण ज्यान गुमाउनेको संख्या बढ्न सक्छ।’ – एजेन्सी