काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आर्थिक सहायता रोक्न दिएको निर्देशन ‘खतरनाक’ भएको प्रतिक्रिया आएको छ। 

माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सले डब्ल्यूएचओलाई राष्ट्रपति ट्रम्पले आर्थिक सहायता रोक्न दिएको निर्देशन खतरनाक भएको प्रतिक्रिया दिएका हुन्। बिल गेट्सले ट्विटरमा भनेका छन्, ‘डब्ल्यूएचओ अहिलेको कोरोना महामारीमा सबैभन्दा आवश्यक संगठन हो। यो स्वास्थ्य क्षेत्रकै सबैभन्दा ठूलो दाता पनि हो। यस्तो संगठनलाई आर्थिक सहयोग रोक्नु भनेको निकै खतरनाक हुन सक्छ।’

ट्रम्पको निर्देशन सार्वजनिक भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो ग्रुथेसले पनि डब्ल्यूएचओलाई सबैले सहयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। ‘यो महामारीमा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण छ’, उनीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘यो महामारीका बेला डब्ल्यूएचओजस्ता संगठनको फन्ड कटौती गर्ने बेला होइन।’

ग्रुथेसले यतिबेला यो महामारीसँग लड्न सबै अन्तर्राष्ट्रिय समुदाय एक हुनुपर्ने बेला रहेको बताएका छन्। 

त्यसो त अमेरिकी राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओले यो महामारीका बेला खासै उल्लेख्य काम गर्न नसकेको आरोपमा लगाएका छन्। ट्रम्पले पछिल्लो केही सातादेखि डब्ल्यूएचओले गलत सूचना प्रवाह गर्दै चीनको पक्ष लिइरहेको दाबी पनि गरेका छन्। डब्ल्यूएचओकै गलत सूचनाका कारण अहिले विश्वमा थुप्रै ज्यान गुमाउनु परिरहेको उनको भनाइ छ। 

त्यसो त सबैलाई थाहा छ डब्ल्यूएचओलाई सन् २०१९ डिसेम्बर ३१ मा यो भाइरसबारे जानकारी प्राप्त भएको थियो। अहिलेसम्म डब्ल्यूएचओले के–के गर्यो त ? त्यो पनि हेरौँ –

जनवरी ४, २०२० – सोसल मिडियामा पहिलोपटक यो भाइरसबारे जानकारी दियो। त्यतिखेर यसलाई निमोनिया भनिएको थियो।

जनवरी ५, २०२० – पहिलोपटक यसबारेमा समाचार प्रकाशित भयो। जसमा यो भाइरस मानिसबाट मानिस सर्ने रोग हो वा होइन भन्ने पुष्टि भइनसकेको बताइयो।

१० जनवरी, २०२० – पहिलोपटक अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध गर्न भनियो।

२०–२१ जनवरी, २०२० – डब्ल्यूएचओका क्षेत्रीय विशेषज्ञ कोरोना भाइरसको इपिसेन्टर चीनको वुहान सहरको अनुगमनमा गए। जहाँ पहिलोपटक यो भाइरस देखा परेको थियो।

जनवरी २२, २०२० – अनुगमनपछि डब्ल्यूएचओले यो भाइरस मानिसबाट मानिसमा सर्ने सरुवा रोग भएको जानकारी दियो।

जनवरी २४, २०२० – दोस्रो ट्राभल एड्भाइजरी प्रकाशित गर्यो।

जनवरी २७, २०२० – तेस्रो ट्राभल एड्भाइजरी प्रकाशित गर्यो।

जनावरी २८, २०२० – डब्ल्यूएचओका एक वरिष्ठ प्रतिनिधिमण्डलले बेइजिङमा चिनियाँ नेताहरुसँग भेटघाट गर्यो।

जनावरी ३०, २०२० – सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गर्यो। – एजेन्सी