काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथामका लागि स्विट्जरल्यान्डमा गरिएको लकडाउन खुकुलो पार्ने तयारी गरिएको छ।

स्विट्जरल्यान्ड सरकारले तीन चरणमा लकडाउन खुकुलो गर्ने रणनीति आज सार्वजनिक गर्न लागेको बताइएको छ। स्विट्जरल्यान्डका स्वास्थ्यमन्त्री एलेन बर्सेटले लकडाउन विस्तार खुकुलो पार्दै व्यापारिक स्थल र स्कुल खोज्नका लागि तीन चरणको रणनीति सार्वजनिक गर्नेछन्। 

पहिलो चरणमा बर्सेटको योजनाअनुसार व्यक्ति सेवा प्रदायक कम्पनीहरु जस्तै ह्यरड्रेसर्स (शैलुन) र फिजियो थेरापिस्टलाई अप्रिल २७ बाट काममा फर्किन अनुमति दिइनेछ। यी सेवाप्रदायक कम्पनीमा जाने ग्राहकको संख्यामा सीमितता र दूरी भने निर्धारण गरिने बताइएको छ।

पहिलो चरणको योजनाको दुई–तीन साता अनुगमन गरेपछि मे ११ बाट स्कुलहरु खोल्न अनुमति दिने स्वास्थ्यमन्त्री बर्सेटको योजना छ। 

तेस्रो चरणमा भने बार, रेस्टुराँलगायत क्षेत्र खोल्न अनुमति दिइनेछ। बार तथा रेस्टुराँ भने जुन ८ सम्मै बन्द गर्ने रणनीति स्विट्जरल्यान्ड सरकारको छ।

त्यस्तै भीडभाड धेरै हुने कन्सर्ट र खेलकुद गतिविधि भने पुनः सञ्चालन गर्ने योजनामा स्विट्जरल्यान्ड सरकारले हालसम्म कुनै नीति सार्वजनिक गरिसकेको छैन। स्विट्जरल्यान्डमा ५ जनाभन्दा बढी सँगै वा समूहमा छलफल वा हिँड्न मनाही गरेको छ। 

लकडाउनका कारण त्यहाँको व्यापारव्यवसायले ठूलो क्षति व्यहोर्नुपरेको छ। त्यसैले त्यहाँका व्यापारीउद्योगीहरुले लकडाउन खुकुलो पार्न लबिङ गरिरहेको समाचार एजेन्सीहरु बताउँछन्। 

स्विट्जरल्यान्डमा हालसम्म ९७३ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ। पछिल्ला दि नहरुमा संक्रमितको संख्यामा भने कमी आइरहेका कारण स्विट्जरल्यान्डमा लकडाउन खुकुलो पार्ने तीन चरणको रणनीति लिन लागेको बताइएको छ।

स्विट्जरल्यान्डका छिमेकी मुलुकहरु अस्ट्रिया र जर्मनीमा यसअघि नै लकडाउन खुकुलो पार्ने योजना सार्वजनिक गरिसकेका छन्। – एजेन्सी