काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अमेरिका र क्यानडाले थप ३० दिन दुवै देशका आपसका सीमानाका बन्द गर्ने सम्झौता गरेका छन्।

दुवै देशले विगत एक महिनादेखि सीमानाका बन्द गरेका छन्। दुवै देशले सीमानाकाबाट अत्यावश्यकबाहेक यात्रामा प्रतिबन्ध लगाएका छन् भने औषधिलगायत अत्यावश्यक वस्तुको आयात–निर्यात भने निर्वाध रुपमा गरिरहेका छन्। 

कोरोना नियन्त्रणका लागि दुवै देशका आपसका सीमानाका बन्द गर्ने निर्णय अबको एक सातामा सकिँदैछ। त्यसपछि पुनः सीमानाकाहरु थप एक महिना बन्द हुने भएका छन्। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुवैतर्फका नागरिकलाई सुरक्षित राख्न यो निर्णय लिनुपरेको बताएका छन्। उनले सीमानाका बन्द गरिए पनि कोरोना रोकथामका लागि आवश्यक मास्क, टेस्ट किट्सजस्ता मेडिकल सामग्रीको आयातनिर्यात भने निर्वाध रुपमा भइरहने जानकारी दिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमानाकाहरु बन्द भए पनि क्यानडा, ल्याटिन अमेरिकालगायतका मुलुकहरुमा मेडिकल सामग्री पठाउने कार्य भने नरोकिने जानकारी दिएका छन्। 

जोन हप्किङ्स विश्वविद्यालयको आइतबार बिहानसम्मको तथ्यांकअनुसार क्यानडामा ३४ हजार बढीमा कोरोना संक्रमण देखिसकेको छ भने १ हजार ४०० भन्दा बढीको ज्यान गइसकेको छ। – एजेन्सी