काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस ए गेब्रेयेससले कोरोनाभाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन्।

प्रमुख टेड्रोसले नियमित पत्रकार सम्मेलनमा आर्थिक सहयोग रोक्ने निर्णय पुनर्विचार गर्न अमेरिकालाई पनि गरेका छन्। ‘स्वास्थ्य एजेन्सीको वित्तपोषण रोक्ने निर्णय अमेरिकाले फेरि पुनर्विचार गरोस्’, उनले भनेका छन्।

प्रमुख टेड्रोसले यो महामारी तत्काल नरोकिने संकेत पनि गरेका छन्। ‘पश्चिमी युरोपका केही देशमा संक्रमितको संख्या घट्दै गएको देखिए पनि अफ्रिका, मध्य अमेरिका, दक्षिण अमेरिका र पूर्वी युरोपमा प्रकोप बढ्दै गएको छ’, उनले भने।

कोरोना संक्रमणबाट बिहीबार बिहानसम्म विश्वभर १ लाख ८३ हजारको ज्यान गइसकेको छ। संक्रमितको संख्या २६ लाख २४ हजार नाघेको छ। 

अमेरिका यो भाइरसबाट अतिप्रभावित छ। अमेरिकामा मात्रै यो भाइरसको संक्रमणबाट ४६ हजार बढीको ज्यान गइसकेको छ भने संक्रमितको संख्या ८ लाख ४० हजारभन्दा बढी रहेको छ।