काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस ए गेहब्रेयससले गत जनवरीको अन्तिममा ‘सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गर्दा डब्ल्यूएचओले दिएको सल्लाह विश्वभरका देशले ध्यानपूर्वक नसुन्दा अहिले यस्तो भयावह अवस्था आएको बताएका छन्। 

विश्वमहारी कोरोनाभाइरस रोकथाममा लापरबाही गरेको आरोप लागेपछि प्रमुख टेड्रोसले डब्ल्यूएचओको बचाउ गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘त्यतिबेला चीनबाहिर जम्मा ८२ जनामा मात्र संक्रमण भेटिएको थियो, कसैको मृत्यु भइसकेको थिएन’, उनले भने, ‘विश्वले त्यसबेला डब्ल्यूएचओलाई ध्यानपूर्वक सुन्नुपथ्र्यो।’ 

टेड्रोसले त्यतिखेर आफूहरुले सल्लाह दिएबमोजिम चलेका देशहरुको अवस्था अन्य देशको तुलनामा राम्रो रहेको दाबी पनि गरे। ‘हामीले त्यतिबेला जनस्वास्थ्यबारे एउटा व्यापक दृष्टिकोण बनाउन सल्लाह दिएका थियौँ र हामीले भनेका थियौँ कि खोजी, परीक्षण र आइसोलेसनमा ध्यान दिनुहोस्’, उनले भने, ‘जुन देशले हाम्रो सल्लाह पालना गरे आज उनीहरुको अवस्था अन्य देशको तुलनामा राम्रो छ, त्यो तपाइँहरु आफैँले पनि हेर्न सक्नुहुन्छ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओले चीन केन्द्रित गतिविधि गर्दै यो महामारी रोक्न खासै भूमिका निर्वाह नगरेको भन्दै उसलाई अमेरिकाले दिँदै आएको आर्थिक सहायता रोकिदिएका छन्। उनले डब्ल्यूएचओले कोरोनालाई लिएर लापरबाही गरेको र यो भाइरस फैलिएको कुरा पनि लुकाएको आरोप लगाउँदै आएका छन्। – एजेन्सी