काठमाण्डौ । संयुक्त राष्ट्रसंघ (यूएन) प्रमुख एन्टोनियो गुटेरसले महामारीका रुपमा फैलिएको कोरोनाभाइरसविरुद्धको लडाइँमा विश्वस्तरमा समन्वयको कमी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

बीबीसीसँगको अन्तर्वार्तामा प्रमुख गुटेरसले यस्तो चिन्ता व्यक्त गरेका हुन्। ‘मलाई यो कुराले निराश बनाइरहेको छ कि पूरै विश्व यो भाइरसविरुद्ध एकजुट भएर किन लडिरहेका छैनन्’, उनले भनेका छन्।

प्रमुख गुटेरसले सबै देश आआफ्नो रणनीतिअनुसार यो भाइरसविरुद्ध काम गरिरहेको बताएका छन्। ‘जब कि यो संक्रमण रोक्नका लागि सबै देश मिलेर अगाडि बढेर निकै प्रभावकारी हुनुे थियो’, उनले भनेका छन्। 

गुटेरसले यो भाइरसविरुद्धको लडाइँमा शक्तिशाली मुलुकहरु पनि आआफ्नो हिसाबले अगाडि बढेकोमा चिन्ता व्यक्त गरेका छन्। ‘यो विश्वका लागि मौका हो कि आफ्नो अर्थव्यवस्थालाई टिकाउन बनाउन रणनीति बनाएर अगाडि बढ्न आवश्यक छ’, उनले भनेका छन्।