काठमाण्डौ । अमेरिकाले कोरोनाभाइरसबाट गम्भीर रुपमा संक्रमित भएका बिरामीलाई रेमडेसिविर औषधि चलाउन अनुमति दिएको छ। 

अमेरिकाका एफडीए कमिसनर स्टिफनले अस्पतालमा भर्ना संक्रमितको अवस्था गम्भीर बन्दै गएमा यो औषधि चलाउन अनुमति दिइएको बताएका छन्। अमेरिकाको फुड एन्ड ड्रग एडिमिनिस्ट्रेसनले यो औषधि गम्भीर प्रकृतिका बिरामीलाई आकस्मिक अवस्थामा चलाउन अनुमति दिएको हो। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अनुमतिसँगै अब कोरोना संक्रमण नियन्त्रणमा नयाँ आशा जागेको बताएका छन्। 

यसअघि यो औषधि अमेरिकामा परीक्षणका रुपमा प्रयोग गरिएको थियो। परीक्षणका क्रममा अमेरिकामा विभिन्न अस्पतालमा उपचाररत १ हजार ६३ जना संक्रमितलाई यो औषधि चलाइएको थियो। 

परीक्षणले सकारात्मक नतिजा देखाएसँगै अमेरिकामा गम्भीर प्रकृतिका संक्रमितलाई यो औषधि चलाउन अनुमति दिइएको हो। यो औषधि कोरोनाविरुद्धको उपचारमा प्रभावकारी साबित भएको अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सिएस डिजिज (एनआईएआईडी) का निर्देशक एन्थोनी फाउनले बताएका छन्। ‘परीक्षण नतिजाबमोजिम यो औषधि कोरोना उपचारमा प्रभावकारी साबित हुने प्रस्ट देखिएको छ’, उनले भनेका छन्।

यसको प्रभावकारितासँगै विश्वमा कोरोनाविरुद्धको प्रभावकारी औषधि फेला परेको भन्न पनि थालिएको छ। यो औषधि अब अस्पताल भर्ना भएका जोकोही कोरोना संक्रमित बिरामीलाई दिन सकिने स्वास्थ्य विज्ञहरु बताउँछन्।

यअसघ यो औषधि इबोला संक्रमणको उपचारमा प्रयोग गरिएको थियो। त्यतिखेर पनि यो औषधि प्रभावकारी साबित भएको थियो। – एजेन्सी