काठमाण्डौ । मन्त्रीपरिषद बैठकले कोरोना जोखिमका आधारमा विभिन्न क्षेत्रको वर्गीकरण गरी लकडाउनको आगामी नीति बनाउन मातहतका निकायलाई निर्देशन दिएको छ । 

आइतबार बसेको बैठकले  कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समिति अन्तर्गत रहेको मुख्यसचिव नेतृत्वको कार्यदल र गृह मन्त्रालयलाई आवश्यक गृहकार्य गरी जोखिमका आधारमा विभिन्न क्षेत्रको मार्किङ गर्न र लकडाउनको आगामी मोडालिटीको विषयमा सुझाव प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । 

बैठकमा सहभागी एक मन्त्रीकाअनुसार क्याबिनेटमा निकै लामो समय लकडाउनलाई कसरी अगाडि बढाएर जाने भन्ने विषयमा छलफल भएको थियो । 

सो क्रममा अधिकांश मन्त्रीहरुले सबै क्षेत्रका लागि लकडाउनको एउटै मोडालिटी अब आवश्यक नरहेको र जोखिमका आधारमा विभिन्न क्षेत्रको मार्किङ गरी सोही अनुसारको मोडालिटी लागू गर्नुपर्नेमा जोड दिएका थिए । 

मन्त्रीहरुले जोखिमका आधारमा देशका विभिन्न क्षेत्रलाई ग्रीन, एल्लो र रेड गरी तीन समूहमा वर्गीकरण गर्न सकिने र ती सबै समूहमा पर्ने क्षेत्रहरुका लागि लकडाउनको अलग–अलग मोडालिटी तयार गरिनुपर्नेमा जोड दिएका थिए । 

कोरोना संक्रमणका घटना थपिइरहेका क्षेत्र र अति जोखिमयुक्त क्षेत्रलाई रेडजोनमा राखी त्यहाँको लकडाउनलाई अहिलेको भन्दा कडा पारेर जानुपर्ने मन्त्रीहरुको सुझाव छ । 

यस्तै, एल्लो जोनमा मध्यम खालको जोखिम रहेको क्षेत्रलाई राखी सोही अनुसारको मोडालिटी तयार गरिनुपर्नेमा मन्त्रीहरुको एकमत जस्तो देखिएको छ । 

‘ग्रीन जोन’मा पर्ने क्षेत्रहरुमा भने लकडाउनलाई खुकुलो पार्दै जाने नीति लिइनुपर्नेमा जोड दिइएको छ । 

कोरोना संक्रमणको कुनै केश नभएका वा एकजना पनि कोरोना संक्रमित नरहेका क्षेत्रलाई ग्रीन जोनमा पार्न सकिने केहीको सुझाव छ।

भारतीय सीमासँग नजोडिएका क्षेत्र र संक्रमण नभेटिएका ठाउँहरु ग्रीन जोनमा पर्नसक्ने मन्त्रीहरुको विश्लेषण छ । 

आइतबारको क्याबिनेटमा काठमाण्डौ, पोखरा लगायतका क्षेत्रहरुको लकडाउन मोडालिटीको विषयमा समेत चर्चा चलेको थियो । अधिकांश मन्त्रीहरुले काठमाण्डौ र पोखरा समेत ग्रीन जोनमा पर्ने भएकोले यी क्षेत्रमा बैशाख २६ गतेदेखि नै लकडाउनलाई खुकुलो बनाइनुपर्नेमा जोड दिएका थिए । 

ग्रीन जोनमा पर्ने क्षेत्रहरुमा पहिलो चरणमा निश्चित मापदण्ड लागू गरी निजी सवारी साधन चल्न दिने, अत्यावश्यक बाहेकका पसलहरु समेत खोल्न दिने मोडालिटीमा जान सकिने मन्त्रीहरुले सुझाव समेत दिएका स्रोत बताउँछ । ‘जोर विजोर प्रणाली लागू गरेर निजी सवारी चलाउन दिन सकिन्छ भन्ने कुरा पनि कतिपय विज्ञहरुबाट आएको छ, यसतर्फ पनि ध्यान दिन सकिन्छ ।’ केही मन्त्रीलाई उद्धृत गर्दै स्रोतले भनेको छ–‘तर, काठमाण्डौमा धेरै भीडभाड हुने गरी लकडाउनलाई धेरै खुकुलो चाहि पार्नुहुन्न ।’ 

विज्ञहरुले काठमाण्डौमा लकडाउन केही खुकुलो पारे पनि तत्कालका लागि सार्वजनिक यातायातमा रोक लगाउनुपर्ने, हवाई उडान ठप्प नै राख्नुपर्ने, स्कूल कलेज, मल, सिनेमाघर लगायत बढी भीडभाड हुने क्षेत्र समेत तत्काल खोल्न नहुने सुझाव दिइरहेका छन् ।

पहिलो चरणमा हिमाली तथा पहाडी जिल्लाहरु पनि ग्रीनजोनमा पर्ने संभावना रहेको छ ।  

यिनै सुझावहरुको समेत विश्लेषण गरी लकडाउनको मोडालिटी तयार गर्न क्याबिनेटले निर्देशन दिएको बुझिएको छ । 

विज्ञसहितको टोलीले सबै अवस्था तथा जोखिमको संभावनालाई समेत हेरेर विभिन्न क्षेत्रहरुको मार्किङ गर्ने र लकडाउनको मोडालिटी निश्चित गरी क्याबिनेटमा बैशाख २३ गतेसम्म प्रतिवेदन पेश गर्नेछ । बैशाख २४ गते वा २३ गते बेलुका नै बस्ने क्याबिनेटले आवश्यक निर्णय लिने बताइएको छ ।