काठमाण्डौ । नेपालगन्जमा थप सातजनामा मंगलबार बिहान कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगन्जमा थप सातजनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। 

डा अधिकारीका अनुसार नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। कोरोना पोजेटिभ देखिनेहरुमा नेपालगन्ज उपमहानगरपालिका–८ निवासी २२, ३० र ४० वर्षका पुरुषहरु र ९, ३२, ३४ र ५५ वर्षीया महिलाहरु छन्। 

डा अधिकारीले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए। 

योसँगै नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ। यसअघि गत आइतबार नेपालगन्जमा १५ जनामा कोरोना संक्रमण देखिएको थियो।

संक्रमितको संख्या बढ्दै गएपनि नेपालगन्ज क्षेत्रमा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। नेपालगन्जमा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पहिचान र परीक्षण गर्ने काम भइरहेको डा अधिकारीले जानकारी दिए।

नेपालमा हालसम्म १६ जना संक्रमित ठिक भएर फर्किसकेका छन्।