काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीहरुलाई परिपत्र गर्दै सेयरको दोश्रो बजार कारोबारमा सेमी–अनलाइन प्रणालीको शीघ्र सुरुवात गर्न निर्देशन दिएको छ । 

बिजशालाले केही दिनअघि सेमी अनलाइन प्रणाली केही दिनभित्रै सुरु हुन लागेको समाचार ब्रेक गरेको थियो । बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई पत्र पठाउँदै सेमी अनलाइन प्रणाली तत्काल सुरुवात गर्न निर्देशन दिएको हो । 

धितोपत्र दलाल व्यवसायीहरुले आफ्नो कारोवार, अभिलेख तथा सूचना प्रवाह व्यवस्थापन सम्वन्धमा हाल नेपाल स्टक एक्सचेञ्जवाट स्वीकृत व्याक अफिस सफ्टवेर प्रयोग गरिरहेको परिप्रेक्ष्यमा लगानीकर्ताहरुको हितलाई दृष्टिगत गरी धितोपत्रको कारोवार प्रक्रियालाइ थप सहज, पारदर्शी, सरल, छिटोछरितो र लगानीकर्तामैत्री बनाउन तथा ब्रोकर कार्यालयमा रहने कारोवार सम्बन्धी अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्न धितोपत्र दलाल व्यवसायीहरुले हाल उपयोग गरिरहेको स्वीकृत ब्रोकर व्याक अफिस सफ्टवेरमा आवश्यक सुधार गर्न भनिएको छ । 

बोर्डले सेमी अनलाइन कारोबार प्रणालीको माध्यमबाट    लगानीकर्ताहरुले धितोपत्रको खरिद बिक्री आदेश दिदाँ ब्रोकर कम्पनीबाट सम्बन्धित लगानीकर्ताहरुलाई केवाइसीको आधारमा लगानीकर्ता स्वयंलाई यूजर नेम र पासवर्ड दिई इन्टरनेट मार्फत खरिद विक्री आदेश दिन सक्ने व्यवस्था गर्न भनेको छ । 

यस्तै, लगानीकर्ताहरुबाट इन्टरनेटमार्फत प्राप्त खरिद बिक्री आदेशलाई समय प्राथमिकताको आधारमा खरिद बिक्री प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था मिलाउन समेत भनिएको छ । 

बोर्ड प्रवक्ता निरज गिरीले जारी गरेको एक विज्ञप्तिअनुसार धितोपत्र कारोवार सम्बन्धी विवरण तथा सूचना समेत लगानीकर्ताहरुले इन्टरनेट मार्फत पाउन सक्ने व्यवस्था गर्न निर्देशन दिइएको छ । 

सेमी अनलाइन कारोबार प्रणालीको यो व्यवस्थाबाट धितोपत्र खरिद बिक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित भई आदेश दिनुपर्ने झन्झटको अन्तः भई धितोपत्रको कारोवार प्रक्रिया थप सहज, सरल र छिटो छरितो बनाउन तथा यस सम्बन्धी अभिलेख सुदृढ भई यसले लगानीकर्ताहरुलाई विशेष सुविधा हुने तथा दोस्रो बजारको कारोवारमा स्थलगत तथा परिणात्मक रुपमा व्यापकता आई नयाँ अध्याय थप्ने बोर्डको विश्वास छ ।