काठमाण्डौ । अन्तर्राष्ट्रिय अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) हालै आफगानिस्तानलाई गराएको सचेतले एसियाली मुलुकहरु त्रस्त बनेका छन्।

आईओएमले आफगानिस्तानलाई कोरोनाभाइरसको नयाँ केन्द्र बन्न सक्ने भन्दै सचेत गराएको छ। यदि यो संकेत सही साबित भएमा एसियाली मुलुकहरुमा कोरोनाको कहर बढ्न सक्ने सम्भावना रहेको विज्ञहरु बताउँछन। यसका लागि अहिलेदेखि नै सतर्क रहन उनीहरु सुझाव दिन्छन्। 

आईओएमले आफगानिस्तानका करिब ८० प्रतिशत जनसंख्या कोरोनाको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ। आफगानिस्तानमा हालसम्म कोरोनाबाट ३ हजार ३९१ जना मानिस संक्रमित भएका छन् भने १०४ जनाको ज्यान गइसकेको छ। 

आईओएमका अनुसार आफगानिस्तानमा कोरोना संक्रमितको संख्या तीव्रगतिमा बढिरहेको र यो तीव्रता विश्वका अन्य देशको तुलनामा निकै बढी रहेको छ। 

आफगानिस्तान एसियाका ५० देशमध्ये जीडीपी ग्रोथका हिसाबले ४९ औँ नम्बरमा छ। वर्षौं युद्धको चपेटामा परेको आफगानिस्तानको अर्थव्यवस्था निकै कमजोर छ।

कोरोना संकटबीच आफगानिस्तानमा पीपीईको निकै अभाव रहेको छ। जसका कारण विश्व स्वास्थ्य संगठनले एक महिनाअघि लाखौँ पीपीई सहयोग गरेको थियो। 

आईओएमले आफगानिस्तानसँग सीमा जोडिएका देशहरुले विशेष सतर्कर्ता आपनाउनुपर्ने सुझाव दिएको छ। त्यस्तै आफगानिस्तनले पनि सीमाक्षेत्र हुने आवातजावतमा निगरानी बढाउनुपर्नेमा आईओएमले सचेत गराएको छ।

वर्तमान अवस्थामा आफगानिस्तान कोरोनाबाट प्रभावित एसियाली मुलुकहरुको सूचीमा २० औँ स्थानमा छ। समयमै कोरोना रोकथाम तथा नियन्त्रणका लागि उचित कदम नउठाए स्थिति भयावह हुन सक्ने आईओएमको चेतावनी छ। 

अहिलेसम्म एसियामा कोरोनाबाट ६ लाख ४ हजार बढी मानिस संक्रमित भइसकेका छन्। तीमध्ये २० हजार ८२७ जनाको ज्यान गइसकेको छ भने २ लाख ५५ हजार ७४४ जनाको उपचार भइरहेको छ। ३ लाख २७ हजार ४५७ जना ठिक भएर फर्किसकेका छन्।

एसियाली मुलुकमध्ये टर्कीमा हालसम्म १ लाख ३१ हजार ७४४ जना संक्रमित भइसकेका छन् भने तीमध्ये ३ हजार ५८४ जनाको ज्यान गइसकेको छ। 

कोरोनाबाट एसियामा टर्कीसहित इरान, चीन, भारत, साउदी अरब, पाकिस्तान, सिंगापुर, कतार, इजरायल र यूएई बढी प्रभावित छन्। – एजेन्सी