काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको असर विश्वभर कहिल्यै निर्मूल नहुन सक्ने सम्भावना रहेको जनाएको छ।

डब्ल्यूएचओको आपतकालीन मुद्दाका निर्देशक माइकल रयानले जेनेभामा एउटा भर्चुअल प्रेस कन्फ्रेन्समा कोराना आफूहरुबीच क्षेत्रविशेष एउटा अर्को निर्मूल नहुने भाइरस बनेर रहन सक्ने बताएका छन्। ‘यसअघिको एचआईभी पनि अहिलेसम्म विश्वबाट निर्मूल हुन सकेको छैन’, उदाहरण दिँदै उनले भने, ‘सायद यो भाइरस कहिल्यै निर्मूल नहुन पनि सक्छ।’ 

माइलकले भ्याक्सिन बिना आम मानिस यो बिरामीसँग लड्न इम्युनिटीको उपयुक्त स्तर प्राप्त गर्न वर्षौं लाग्न सक्ने बताए। अहिले विश्वभर कोरोनाविरुद्धको १०० प्रकारका भ्याक्सिन तयार गर्ने कोसिस भइरहेका छन्। तर विज्ञहरुको आशंका छ कि सायद यो भाइरसविरुद्धको भ्याक्सिन विकास नै हुन सक्दैन।

माइकलले यो भाइरस निर्मूल पार्ने भ्याक्सिन विकास गर्न सायद लामो समय लाग्न सक्ने बताएका छन्। ‘अझ हुन सक्छ यो प्रक्रिया कहिल्यै पूरा नहोला पनि’, उनले भनेका छन्।

माइकलले यदि कोरोनाविरुद्धको भ्याक्सिन तयार भए पनि विश्वभर टेस्ट गर्न आवश्यक हुने बताएका छन्। ‘त्यसैले यो भाइरसलाई नियन्त्रण गर्न आउने दिनमा ठूलो प्रयास आवश्यक पर्न सक्छ’, उनले भने। 

उता डब्ल्यूएचओकी महामारी रोग विशेषज्ञ मारिया वेन केरखोवेले पनि यो महामारीबाट बाहिर निस्किन समय लाग्न सक्छ भन्ने सबैले बुझ्न आवश्यक रहेको बताएकी छन्। – एजेन्सी